Logo

राजनीति

हरित क्रान्तिमार्फत समृद्धिको सङ्कल्प पूरा गर्नुपर्छः कुलमान घिसिङ



काभ्रे ।उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले जलस्रोत, कृषि र प्राकृतिक स्रोतको अधिकतम उपयोग गर्दै हरित क्रान्तिमार्फत मुलुकको अर्थतन्त्र सुधार गर्नुपर्ने बताएका छन्।

बनेपामा आइतबार पार्टीको जिल्ला समिति कार्यालय उद्घाटन तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै घिसिङले आर्थिक समृद्धिका लागि संस्थागत सुदृढीकरणसँगै उत्पादनमुखी क्षेत्रमा लगानी बढाउनुपर्ने बताए।

उनका अनुसार काभ्रेका गाउँपालिका तथा नगरपालिकामा पार्टीको संगठन विस्तार भइसकेको छ। देश निर्माणका लागि सहकार्य र समन्वय गर्दै सबैले निरन्तर काम गर्नुपर्नेमा उनले जोड दिए।

‘हामीले एक दिन र एक घण्टा पनि खेर नफाली निरन्तर मेहनतका साथ काम गर्नुपर्नेछ,’ उनले भने।

लामो समयदेखि आर्थिक संकट र अभाव झेल्दै आएको मुलुकको अर्थतन्त्रलाई बलियो बनाउन संस्थागत सुधार आवश्यक रहेको उनले बताए। कृषि आधुनिकीकरण, स्वच्छ ऊर्जाको प्रवर्द्धन र प्राकृतिक स्रोतको सदुपयोगबाट उत्पादन तथा रोजगारी बढाउनुपर्ने उनको भनाइ थियो।

युवालाई विदेश पलायन हुनबाट रोक्न स्वदेशमै रोजगारी र उद्यमका अवसर सिर्जना गर्नुपर्नेमा समेत उनले जोड दिए। कार्यक्रममा पार्टीका नेता तथा कार्यकर्ताको उपस्थिति थियो।

 

प्रकाशित मिति : १८ आश्विन २०८३, आईतवार २०:३१   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।