काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले संविधान संशोधनलाई सत्ता र प्रतिपक्षबीचको राजनीतिक स्वार्थ वा संसद्को अंकगणितमा मात्र सीमित गर्न नहुने बताएका छन्।
काठमाडौंको खुलामञ्चमा आयोजित कांग्रेसको १५औँ महाधिवेशनलाई सम्बोधन गर्दै शर्माले संविधान कार्यान्वयनको १० वर्ष पुगेको सन्दर्भमा समीक्षा र संशोधन गर्दा सबै वर्ग, समुदाय तथा विगतका आन्दोलनबाट प्राप्त उपलब्धिको संरक्षण गर्नुपर्ने बताए। उनले संविधान संशोधन प्रक्रियामा राष्ट्रिय अपनत्व र सहमति कायम गर्नुपर्नेमा जोड दिए।
सरकारले संविधान संशोधनको प्रक्रिया अघि बढाउने तयारी गरेको विषयलाई स्वागत गर्दै शर्माले त्यसलाई व्यवस्थित, परिपक्व र संविधानको मर्मअनुसार अघि बढाउनुपर्ने बताए। संविधानसभामा प्रतिनिधित्व गरेका तर अहिले संसद्मा नरहेका राजनीतिक दलहरूलाई समेत संशोधन प्रक्रियामा सहभागी गराउन उनले सरकारसँग आग्रह गरे।
‘संविधान संशोधन सत्ता र प्रतिपक्षको चाहना वा संसद्को गणितमा मात्र सीमित हुनुहुँदैन,’ शर्माले भने, ‘यो समग्र राष्ट्रिय सहमति, अपनत्व र सबै समुदायको भावनालाई समेट्ने विषय बन्नुपर्छ।’
उनका अनुसार संविधान संशोधन गर्दा मधेस आन्दोलन, थारुहट आन्दोलन, दलित, जनजाति तथा कर्णालीलगायतका क्षेत्र र समुदायले उठाएका सवाललाई बेवास्ता गर्न हुँदैन। ती आन्दोलनबाट संविधानमा सुनिश्चित गरिएका अधिकारलाई कुनै पनि अवस्थामा कुण्ठित गर्न नहुने उनले स्पष्ट पारे।
शर्माले पछिल्लो समय युवा पुस्ता, विशेषगरी जेन–जीले उठाएका विषयलाई समेत संविधान संशोधनको बहसमा समेट्न सकिने संकेत गरे।
उनले संविधान कार्यान्वयनको दशक पुगेपछि यसको मूल्यांकन आवश्यक रहेको बताउँदै सरकारको संशोधन प्रयासमा कांग्रेसले साथ दिने बताए। तर प्रक्रिया पारदर्शी, व्यवस्थित र सर्वस्वीकार्य हुनुपर्ने उनको भनाइ थियो।
‘सरकारले संविधानसभामा सहभागी तर अहिले संसद्मा नरहेका दलहरूलाई समेत समेटेर प्रक्रिया अघि बढाउनुपर्छ,’ शर्माले भने।




















प्रतिक्रिया