काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको एकदिवसीय शृङ्खला खेल्न जाने नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको बिदाइ गरिएको छ। काठमाडौंमा आयोजित कार्यक्रममा नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्कालगायत पदाधिकारीले नेपाली टोलीलाई बिदाइ गरेका हुन्। बिदाइ कार्यक्रममा क्यान अध्यक्ष चन्दले नेपाली खेलाडी पछिल्लो समय उच्च लयमा रहेकाले लिग–२ मा उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गरे। उनले टोलीलाई सफलताको शुभकामना दिँदै शृङ्खलाका लागि उत्साहका साथ खेल्न आग्रह गरे। लिग–२ अन्तर्गत नेपालले ओमानमा घरेलु टोली ओमान र क्यानडासँग प्रतिस्पर्धा गर्नेछ। नेपालले असोज २५ गते क्यानडासँग पहिलो खेल खेल्नेछ। त्यसपछि असोज २७ गते ओमानसँग प्रतिस्पर्धा गर्नेछ। नेपालले असोज ३१ गते क्यानडासँग दोस्रो तथा कात्तिक २ गते ओमानसँग चौथो खेल खेल्ने तालिका छ। नेपालका लागि यो शृङ्खला एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता कायम राख्ने दृष्टिले महत्वपूर्ण मानिएको छ। लिग–२ मा प्राप्त अंकले नेपालको विश्वकप छनोट यात्रासँगै ओडीआई मान्यता जोगाउने सम्भावनामा समेत प्रभाव पार्नेछ।




















प्रतिक्रिया