Logo

राजनीति

सभामुख अर्याल तान्जानिया प्रस्थान, यस्ता छन् भ्रमणका कार्यक्रम



काठमाडौं । सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा सहभागी हुन आइतबार संसदीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै तान्जानियातर्फ प्रस्थान गरेका छन्।

सभामुख अर्याल आइतबार साँझ ७ बजे कतार एयरवेजको उडानमार्फत काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दोहा हुँदै तान्जानिया जानेछन्।

उनी सोमबार बिहान किलिमान्जारो अन्तर्राष्ट्रिय विमानस्थलमा पुग्ने कार्यक्रम छ। महासभा तान्जानियाको अरुषा सहरमा अक्टोबर ५ देखि ९ सम्म आयोजना हुँदैछ।

सभामुखसँगै उनकी धर्मपत्नी अम्बिका केसी, प्रतिनिधि सभाका सदस्य रविन महत्तो तथा राष्ट्रिय सभाका सदस्य झक्कुप्रसाद सुवेदी र अञ्जान शाक्य प्रतिनिधिमण्डलमा छन्।

प्रतिनिधि सभाका महासचिव पद्मप्रसाद पाण्डे, सचिव प्रकाश अधिकारी, सहसचिव रेखा उपाध्याय खनाल तथा सभामुखका निजी सचिव मधु मिजार पनि टोलीमा सहभागी छन्।

महासभामा विश्वभरका संसद्का प्रतिनिधिहरू सहभागी हुनेछन्। कार्यक्रममा आईपीयूको गभर्निङ काउन्सिल तथा विभिन्न स्थायी समितिका बैठक, महासभा, विषयगत छलफल र द्विपक्षीय भेटवार्ता हुनेछन्।

महासभाको पहिलो दिन सोमबार प्रतिनिधिमण्डलका सल्लाहकार तथा सचिवहरूको बैठकसँगै एसिया–प्रशान्त समूहको बैठक र महिला सांसदहरूको मञ्च आयोजना हुनेछ।

सोही दिन थाइल्यान्डको राष्ट्रिय सभाका माथिल्लो सदनका सभामुख मोंगकोल सुरसज्जाको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलसँग सभामुख अर्यालले भेटवार्ता गर्नेछन्।

त्यसैगरी अस्ट्रेलियाका प्रतिनिधि सभाका सभामुख मिल्टन डिक र चीनको राष्ट्रिय जनकांग्रेसअन्तर्गत शिक्षा, विज्ञान, संस्कृति तथा जनस्वास्थ्य समितिका उपाध्यक्ष तियान सुएजुनको नेतृत्वमा रहेका प्रतिनिधिमण्डलसँग पनि द्विपक्षीय भेटवार्ता हुने कार्यक्रम छ। सोमबार नै महासभाको औपचारिक उद्घाटन हुनेछ।

मंगलबार सभामुख अर्यालले आईपीयूको गभर्निङ काउन्सिलको बैठकमा सहभागिता जनाउनेछन्। सोही दिन बेलायतको हाउस अफ कमन्सका सभामुख सर लिन्डसे होयलको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलसँग द्विपक्षीय भेटवार्ता हुनेछ।

महासभाको सामान्य छलफलमा ‘समावेशिता, विश्वास र सबैका लागि अवसरमार्फत सुशासन अभिवृद्धि तथा समुदायको सशक्तीकरण’ विषयमा छलफल हुनेछ।

लोकतन्त्र तथा मानवअधिकारसम्बन्धी स्थायी समितिमा अपांगता भएका व्यक्तिको अधिकार तथा सशक्तीकरणका लागि संसदीय रणनीतिसम्बन्धी प्रस्तावमाथि छलफल हुनेछ।

शान्ति तथा अन्तर्राष्ट्रिय सुरक्षासम्बन्धी समितिमा सैन्य क्षेत्रमा कृत्रिम बुद्धिमत्ताको प्रयोगबाट उत्पन्न चुनौती, शान्ति सुरक्षामा संसद्को भूमिका तथा संसदीय कूटनीति, मध्यस्थता र संवादमार्फत दिगो शान्ति स्थापनाबारे छलफल हुनेछ।

बुधबार महासभाको सामान्य छलफल निरन्तर चल्नेछ। संयुक्त राष्ट्रसंघीय मामिलासम्बन्धी समितिमा संयुक्त राष्ट्रसंघीय प्रणालीमा सुधार तथा थप प्रतिनिधिमूलक संयुक्त राष्ट्रसंघ निर्माणसम्बन्धी विषयमा छलफल हुनेछ।

त्यसैगरी दिगो विकाससम्बन्धी समितिमा सन् २०३० सम्म पर्वतीय तथा समुद्री पारिस्थितिक प्रणालीको संरक्षण र ३० प्रतिशत संरक्षण लक्ष्य हासिल गर्न संसदीय नेतृत्वसम्बन्धी प्रस्तावमाथि छलफल हुनेछ।

शान्ति तथा अन्तर्राष्ट्रिय सुरक्षासम्बन्धी समितिमा द्वन्द्वका समयमा समुद्री सुरक्षा तथा महत्वपूर्ण पूर्वाधारको संरक्षण र अन्तर्राष्ट्रिय जलमार्गबारे विज्ञ छलफल हुनेछ।

बिहीबार संयुक्त राष्ट्रसंघीय मामिलासम्बन्धी समितिमा द्वन्द्व रोकथाम तथा समाधानका लागि संयुक्त राष्ट्रसंघीय संयन्त्रको भूमिकाबारे छलफल हुनेछ। दिगो विकाससम्बन्धी समितिमा कृत्रिम बुद्धिमत्ता र रोजगारीको भविष्य तथा जलवायु परिवर्तनसम्बन्धी विषयमा छलफल हुनेछ।

सोही दिन लोकतन्त्र तथा मानवअधिकारसम्बन्धी स्थायी समितिले मस्यौदा प्रस्ताव पारित गर्नेछ। महासभामा आईपीयूका प्रस्ताव तथा निर्णयहरूको कार्यान्वयनसम्बन्धी जवाफदेहिता सत्र पनि हुनेछ। साँझ सबै प्रतिनिधिमण्डलको सहभागितामा सांस्कृतिक कार्यक्रम आयोजना गरिनेछ।

शुक्रबार आईपीयूको गभर्निङ काउन्सिलको बैठकमा अध्यक्षको निर्वाचन, सांसदहरूको मानवअधिकारसम्बन्धी विषय तथा विभिन्न विशेष बैठकका प्रतिवेदनमाथि छलफल हुनेछ।

त्यसपछि महासभाको बैठकमा विभिन्न प्रस्ताव पारित गर्नुका साथै स्थायी समितिका प्रतिवेदन र सामान्य छलफलको निष्कर्ष दस्तावेज अनुमोदन गरिनेछ। आईपीयूको विधानमा प्रस्तावित संशोधनमाथि पनि निर्णय हुनेछ।

महासभा सम्पन्न भएपछि नेपाली प्रतिनिधिमण्डल केन्याको राजधानी नैरोबी जानेछ। अक्टोबर १० मा नैरोबीस्थित नेपाली समुदायसँग अन्तरक्रिया गर्ने तथा नैरोबी नेसनल पार्क, जिराफ सेन्टर र डेभिड शेल्ड्रिक वन्यजन्तु संरक्षण केन्द्रको भ्रमण गर्ने कार्यक्रम छ।

अक्टोबर ११ मा नैरोबीका प्रमुख सांस्कृतिक तथा ऐतिहासिक स्थलको भ्रमण गर्ने कार्यक्रम रहेको छ। त्यसको भोलिपल्ट सभामुख अर्यालले केन्याको संसद् भवनमा उपसभामुख तथा सांसद ग्लाडिस जेप्कोसेगी बोससँग शिष्टाचार भेटवार्ता गर्नेछन्। त्यसपछि संसदीय बजेट कार्यालयसँग भेटघाट तथा अन्तरक्रिया हुनेछ।

केन्या भ्रमण सकेर प्रतिनिधिमण्डल नैरोबीबाट फ्लाई दुबईको उडानमार्फत दुबई हुँदै काठमाडौं फर्कनेछ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आगमनसँगै भ्रमण सम्पन्न हुनेछ।

 

प्रकाशित मिति : १८ आश्विन २०८३, आईतवार २१:३६   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।