Logo

प्रमुख समाचार

कांग्रेसमा ४ सहमहामन्त्री र ६६ केन्द्रीय सदस्य सभापतिले मनोनीत गर्ने



काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय समितिको आकार बढाउने प्रस्ताव पारित गरेको छ। १५औँ महाधिवेशनको बन्दसत्रले महामन्त्री प्रदीप पौडेलले प्रस्तुत गरेको विधान संशोधनसम्बन्धी प्रस्ताव पारित गरेसँगै केन्द्रीय समिति २९७ सदस्यीय हुने भएको हो।

महामन्त्री पौडेलका अनुसार महाधिवेशन प्रतिनिधिको संख्या नै करिब ७ हजार ७ सय पुगेकाले केन्द्रीय समितिको आकार बढाइएको हो। यसअघि कांग्रेसको केन्द्रीय समिति १६७ सदस्यीय थियो।

संशोधित विधानअनुसार कांग्रेसमा एक सभापति, एक वरिष्ठ उपसभापति, चार उपसभापति, एक महिला महामन्त्रीसहित तीन महामन्त्री र ११ निर्वाचित सहमहामन्त्री रहनेछन्। त्यस्तै, चार सहमहामन्त्री सभापतिले मनोनीत गर्ने व्यवस्था गरिएको छ।

कुल २९७ सदस्यीय केन्द्रीय समितिमध्ये ६६ जना सभापतिले मनोनीत गर्ने पौडेलले बताए। प्रतिनिधिसभामा कांग्रेस संसदीय दलका नेता र प्रदेश सभापतिहरू केन्द्रीय कार्यसमितिको पदेन सदस्य रहने व्यवस्था पनि गरिएको छ।

यसैगरी, केन्द्रीय कार्यसम्पादन समितिको आकार पनि बढाइएको छ। यसअघि ३१ सदस्यीय रहेको कार्यसम्पादन समिति अब ४१ सदस्यीय बनाइएको छ।

कांग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार कोषाध्यक्ष र प्रवक्तालाई सभापतिले पदाधिकारीको हैसियतमा मनोनीत गर्ने व्यवस्था गरिएको छ। आवश्यकताअनुसार सहप्रवक्तासमेत सभापतिले मनोनीत गर्न सक्ने प्रावधान राखिएको उनले बताए।

 

प्रकाशित मिति : १९ आश्विन २०८३, सोमबार १९:४२   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।