Logo

राजनीति

वायुसेवा निगमलाई नतिजामुखी बनाउन पर्यटन मन्त्रीको जोड



काठमाडौं  । नेपाल वायुसेवा निगमलाई नतिजामुखी बनाउन पूर्ण स्वायत्तताका साथ काम गर्न दिनुपर्ने धारणा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले राखेका छन्।

प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा बोल्दै मन्त्री पौडेलले राजनीतिक हस्तक्षेपका कारण निगम कमजोर बन्दै गएको बताए। उनका अनुसार निगमलाई प्रभावकारी बनाउन निर्णय प्रक्रियामा व्यवस्थापनलाई स्वतन्त्रता दिन आवश्यक छ।

‘स्वायत्तता पाउँदा कर्मचारीले नतिजा दिन सक्छन्,’ उनले भने।

मन्त्री पौडेलले निगमको विषय नाफा–घाटासँग मात्र जोडिएको नभई राष्ट्रिय सम्मानसँग समेत सम्बन्धित रहेको बताए। निगमको ऐतिहासिक साख जोगाउनु राज्यको दायित्व भएको उनको भनाइ थियो।

बैठकमा सांसदहरूले निगमले भोगिरहेका समस्या, चुनौती तथा सुधारका उपायबारे विभिन्न जिज्ञासा र सुझाव राखेका थिए। ती जिज्ञासाको जवाफ दिँदै मन्त्री पौडेलले वर्तमान सरकारले निगमलाई पूर्ण स्वायत्तताका साथ काम गर्ने वातावरण दिएको दाबी गरे।

समितिका सभापति सुम्नीमा उदासले छलफलपछि समितिले आवश्यक निर्देशनात्मक सुझाव दिने बताइन्। समितिको निर्देशनअनुसार निगम व्यवस्थापनले आफ्नो कार्यसम्पादन अघि बढाउनुपर्ने उनको भनाइ थियो।

 

प्रकाशित मिति : १९ आश्विन २०८३, सोमबार २०:२२   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।