नारायणगढ । चितवनको कुरिनटारदेखि गोरखाको प्रसिद्ध मनकामना मन्दिरसम्म सञ्चालन हुँदै आएको मनकामना केबलकार मंगलबार एक दिन बन्द हुने भएको छ।
चाडपर्वअघि नियमित मर्मतसम्भार गर्नुपर्ने भएकाले केबलकार सेवा बन्द गर्न लागिएको मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए।
उनका अनुसार केबलकारका टावर तथा दुवै स्टेसनको नियमित मर्मतसम्भार र निरीक्षण गर्नुपर्ने भएकाले एक दिन सेवा रोकिनेछ। ‘टावर र स्टेसनको काम मर्मत गर्नुपर्ने भएकाले एक दिन सेवा बन्द गर्न लागिएको हो,’ शेरचनले भने।
केबलकार बन्द रहेको समयमा टावरको मर्मत तथा निरीक्षण गर्नुका साथै दुवै स्टेसनको अवस्थासमेत जाँच गरिने कम्पनीले जनाएको छ।
बुधबारदेखि केबलकार सेवा नियमित रूपमा सञ्चालनमा आउने शेरचनले बताए। सेवा बन्द रहनेबारे सामाजिक सञ्जालमार्फत यात्रु तथा सर्वसाधारणलाई जानकारी गराइएको उनले बताए।
केबलकार सेवा एक दिन बन्द हुँदा यात्रु तथा दर्शनार्थीमा पर्न जाने असुविधाप्रति मनकामना दर्शन प्रालिले क्षमा मागेको छ।




















प्रतिक्रिया