चितवन । चाडपर्वलाई लक्षित गर्दै साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले नारायणगढमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ। असोज १ गतेदेखि सञ्चालनमा आएको पसलमा बजार मूल्यभन्दा सस्तोमा चाडपर्वमा आवश्यक खाद्यान्न बिक्री भइरहेको छ।
कर्पोरेसनले बजारमा प्रतिकिलो १३० रुपैयाँसम्म पर्ने चिनी सुपथ मूल्य पसलबाट प्रतिकिलो १०० रुपैयाँमा बिक्री गरिरहेको छ। चिनीका अतिरिक्त नुन, तेल, चिउरा, दाल, पिठो र मैदालगायत खाद्यान्न पनि सहुलियत मूल्यमा उपलब्ध गराइएको कार्यालय प्रमुख बुद्धिविनोद दाहालले जानकारी दिए।
उनका अनुसार पसलबाट आयो नुन र चिनी प्रतिव्यक्ति अधिकतम ६ किलोका दरले बिक्री भइरहेको छ। त्यस्तै, तेल प्रतिव्यक्ति पाँच लिटर तथा चिउरा, दाल, पिठो र मैदा पाँच–पाँच किलोका दरले बिक्री गरिँदै आएको छ। यी सामग्रीमा प्रतिकिलो वा प्रतिलिटर सात रुपैयाँ छुट दिइएको दाहालले बताए।
कात्तिक मसान्तसम्म सञ्चालन हुने पसल सार्वजनिक बिदाबाहेक हरेक दिन बिहान ९स्१५ देखि अपराह्न ४स्३० बजेसम्म खुला रहनेछ। पछिल्ला दिनमा सुपथ मूल्य पसलमा खाद्यान्न खरिद गर्ने उपभोक्ताको चाप बढ्दै गएको दाहालले जानकारी दिए।
पसलबाट हाल नौ प्रकारका खाद्यान्न सामग्री बिक्री भइरहेको कर्पोरेसनले जनाएको छ।




















प्रतिक्रिया