काठमाडौं । विश्वभर ‘पिस डग’ अर्थात् शान्तिको प्रतीकका रूपमा चर्चित कुकुर ‘अलोका’ नेपाल आइपुगेको छ। अलोका थाइल्यान्डबाट बौद्ध भिक्षुहरूसँगै हालै काठमाडौं आइपुगेको हो।
काठमाडौं आइपुगेपछि अलोकाको व्यस्तता बढेको छ भने उसलाई हेर्न आउनेहरूको भीड पनि उत्तिकै लागेको छ। एकपटक हेर्ने र सुम्सुम्याउने रहर बोकेका थुप्रै नेपाली अलोकाको वरिपरि झुम्मिएको मंगलबार बौद्धमा देखियो। बौद्धस्थित सेतो गुम्बामा भोटेकोशी बाढीमा परी दिवंगत भएकाहरूको स्मृतिमा आयोजित शोक तथा प्रार्थना सभामा अलोका पनि उपस्थित थियो।
भारतको सडकमा बेवारिसे अवस्थामा भेटिएको अलोका भिक्षुहरूसँगै विभिन्न देशको यात्रा गर्दै विश्व शान्तिको सन्देश फैलाउने प्रतीकका रूपमा चर्चित बनेको छ।
यही असोज २२ गते बौद्ध भिक्षुकहरुकोसाथ नेपाल आइपुगेको अलोकाको यहाँको बसाई असोज ३० गतेसम्म हुने कुरा बौद्ध भिक्षुहरुको यात्राको संयोजन गरिरहेका नरेन्द्र मानन्धरले बताए ।
मानन्धरका अनुसार अलोकासँगै रहेको बौद्ध भिक्षुहरुले बाढी पीडित परिवारका साथै प्रभावित क्षेत्रका जनावरको हितका लागि पनि काम गर्ने छ ।
अलोकाको कथा सन् २०२२ बाट सुरु हुन्छ। भारतमा बौद्ध भिक्षु भिक्खु पञ्ञाकरसहितका भिक्षुहरू पदयात्रामा रहेका बेला अलोका उनीहरूको सम्पर्कमा आएको थियो।
भिक्षुहरूलाई पछ्याउँदै हिँड्न थालेको यो कुकुर बिस्तारै उनीहरूको यात्राको साथी बन्यो। सडकमा बेवारिसे अवस्थामा भेटिएको अलोका त्यसपछि भिक्षुहरूसँगै लामो यात्रामा निस्कियो।
अमेरिकामा बौद्ध भिक्षुहरूसँगै लामो दूरीको पैदल शान्ति यात्रामा सहभागी भएपछि अलोका अझ चर्चित बन्यो। भिक्षुहरूसँगै हिँडिरहेको अलोकाका तस्बिर र भिडियो सामाजिक सञ्जालमा फैलिँदै गए। त्यसपछि धेरै मानिसले उसलाई ‘पिस डग’ भनेर चिन्न थाले।
अलोकाको चर्चा उसको यात्राका कारण मात्रै भएको होइन। उसले दिने सन्देशले पनि मानिसहरूको मन छोएको छ। मानिसहरू धर्म, जात, भाषा र देशका आधारमा विभाजित भइरहेका बेला एउटा कुकुर भिक्षुहरूसँगै शान्तिको सन्देश फैलाउँदै यात्रा गरिरहेको छ। उसको यात्राले माया र करुणाको भाषा सबैले बुझ्छन् भन्ने कुरा सम्झाउँछ।
अलोका बोल्न सक्दैन। तर, भिक्षुहरूसँगै हिँडिरहेको उसको दृश्यले मानिसहरूलाई सोच्न बाध्य बनाउँछ। शान्तिको कुरा गर्न ठूलो भाषण दिनैपर्छ भन्ने छैन। अरूप्रति दया देखाउनु, सबै प्राणीलाई माया गर्नु र सँगै अघि बढ्नु पनि शान्तिको सुरुवात हुन सक्छ भन्ने सन्देश उसको कथाले दिन्छ।
नेपालमा पहिलोपटक आएको अलोका मंगलबार बौद्धमा देखियो। अलोकाको नेपाल आगमनले उसको यात्रामा अर्को अध्याय थपेको छ। बौद्ध धर्ममा करुणा, अहिंसा र सबै प्राणीप्रति मैत्रीभाव राख्नुलाई महत्त्व दिइन्छ। त्यसैले भिक्षुहरूसँगै शान्तिको सन्देश फैलाउँदै हिँडिरहेको अलोकाको नेपाल यात्रा अर्थपूर्ण बनेको छ।
भारतको सडकमा बेवारिसे अवस्थामा भेटिएको अलोका आज विश्वभरका मानिसको चासो र मायाको पात्र बनेको छ।
कुन–कुन देशमा यात्रा ग¥यो अलोकाले?
भारत
सन् २०२२ मा कोलकाताबाट बोधगयातर्फ पैदल यात्रामा रहेका बौद्ध भिक्षुहरूसँग अलोका जोडिएको थियो। उनीहरूसँगै करिब १०० दिन यात्रा गर्दै नेपाल सीमासम्म पुगेको थियो।
अमेरिका
सन् २०२५ अक्टोबर २६ मा टेक्ससको फोर्ट वर्थबाट सुरु भएको शान्ति पदयात्रामा अलोका सहभागी भयो। करिब १०८ दिनमा ३ हजार ७ सय किलोमिटर यात्रा गर्दै पदयात्रा वासिङ्टन डीसी पुगेको थियो।
श्रीलंका
सन् २०२६ अप्रिलमा डम्बुलाबाट सुरु भएको शान्ति यात्रामा अलोका सहभागी भयो। अनुराधापुर, माटाले, क्यान्डी र केलनियालगायतका क्षेत्र हुँदै कोलम्बोको इन्डिपेन्डेन्स स्क्वायरसम्म यात्रा गरेको थियो।




















प्रतिक्रिया