Logo

राजनीति

संसदीय सुनुवाइबाट १० राजदूतको नाम सर्वसम्मत, सुनार अस्वीकृत



काठमाडौं । संसदीय सुनुवाइ समितिले विभिन्न १० देशका लागि सरकारले प्रस्ताव गरेका राजदूतहरूको नाम नियुक्तिका लागि अनुमोदन गरेको छ। समितिले साउदी अरबका लागि प्रस्तावित राजदूत गिरीबहादुर सुनारको नाम भने अस्वीकृत गरेको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० संसदीय दलका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले सुनारलाई राजदूत नियुक्त गर्न नमिल्ने धारणा राखेका थिए।

असोज २ गते बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न १३ देशका लागि राजदूत सिफारिस गर्दै संसदीय सुनुवाइका लागि समितिमा पठाएको थियो।

समितिबाट सर्वसम्मत अनुमोदन हुनेमा भारतका लागि निश्चलनाथ पाण्डे, चीनका लागि कल्याणराज शर्मा, अमेरिकाका लागि चिरनजंग थापा र बेलायतका लागि पूर्वप्रधानसेनापति गौरवशमशेर जबरा छन्।

त्यस्तै, इजरायलका लागि सुरेशकुमार कर्ण, ओमानका लागि पद्माक्षी राणा, दक्षिण कोरियाका लागि प्राडा संगम श्रेष्ठ, स्पेनका लागि प्राप्ति शेरचन, जर्मनीका लागि शरु जोशी र श्रीलंकाका लागि मंचला झाको नाम पनि समितिले अनुमोदन गरेको छ।

समितिका सभापति बोधनारायण श्रेष्ठले अनुमोदित राजदूतहरूलाई नियुक्तिका लागि परराष्ट्र मन्त्रालयमार्फत प्रक्रिया अघि बढाउन समिति सचिवलाई निर्देशन दिएका छन्।

जापानका लागि प्रस्तावित राजदूत जिग्यानकुमार थापा र मलेसियाका लागि प्रस्तावित राजदूत चुडामणी खरेलका विषयमा भने समितिले थप छलफल गर्ने भएको छ।

प्रकाशित मिति : २८ आश्विन २०८३, बुधबार १९:३५   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।