Logo

समाचार

भोटेकोशी बाढी प्रभावित घरधुरीलाई ४५ हजार रुपैयाँका दरले नगद



काठमाडौं । रसुवाको भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ घरपरिवारले जनही ४५ हजार रुपैयाँका दरले नगद राहत पाएका छन्।

विश्व खाद्य कार्यक्रम ९डब्लुएफपी०को सहयोगमा उपलब्ध गराइएको उक्त रकम स्थानीय तहसँगको समन्वयमा वितरण गरिएको सरकारले जनाएको छ। राहत वितरणमा दोहोरोपना हुन नदिन एकद्वार प्रणाली अपनाइएको छ।

सरकारका अनुसार रसुवाका पाँच, नुवाकोटका चार र धादिङका दुई गरी ११ स्थानीय तहका बाढी प्रभावित परिवारलाई राहत रकम उपलब्ध गराइएको हो।

लाभग्राहीको तथ्यांक प्रमाणीकरण हुन बाँकी रहेका करिब १ हजार ४ सय घरपरिवारलाई पनि तीन दिनभित्र राहत वितरण गरिसक्ने सरकारको तयारी छ।

गत असोज २३ गते केन्द्रसहित तीनवटै जिल्लाका मनसुन प्रतिकार्य कमान्ड पोस्टको संयुक्त बैठकले विपद् प्रभावित घरपरिवारको पहिचान, प्रमाणीकरण तथा शीघ्र पुनर्लाभका कामलाई व्यवस्थित गर्ने निर्णय गरेको थियो।

रेडक्रससहित अन्य विकास साझेदारले समेत नगद सहयोग उपलब्ध गराउन चाहेकाले सरकारले ‘विपद् संवेदनशील सामाजिक सुरक्षा तथा राहत वितरण मापदण्ड, २०८१’ अनुसार सहायता वितरण गर्न स्थानीय तह र सम्बन्धित निकायलाई निर्देशन दिएको छ।

राहत वितरण गर्दा वास्तविक प्रभावित नछुट्ने र एउटै परिवारले दोहोरो सहायता नपाउने व्यवस्था मिलाउन सरकारले जोड दिएको छ।

यसैबीच, बाढी प्रभावितको दीर्घकालीन पुनर्स्थापना तथा व्यवस्थापनका लागि पनि काम तीव्र पारिएको सरकारले जनाएको छ।

प्रकाशित मिति : २८ आश्विन २०८३, बुधबार २१:३२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।