काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साह र नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङबीच भेटवार्ता भएको छ।
मन्त्रालयमा आज भएको शिष्टाचार भेटमा नेपाल–चीनबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने र द्विपक्षीय आर्थिक सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको मन्त्री साहको सचिवालयले जनाएको छ।
भेटमा दुई देशबीचको व्यापार तथा लगानी प्रवर्द्धन, नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजारमा पहुँच विस्तार र औद्योगिक विकासका सम्भावनाबारे कुराकानी भएको थियो। त्यसैगरी, आर्थिक साझेदारीलाई थप प्रभावकारी बनाउने विषयमा पनि विचार आदानप्रदान भएको सचिवालयले जनाएको छ।
छलफलका क्रममा उद्योग तथा पूर्वाधार क्षेत्रमा लगानीका अवसर पहिचान गर्ने, व्यापारिक सहकार्य विस्तार गर्ने र दुवै देशबीचको आर्थिक सम्बन्धलाई थप मजबुत बनाउने विषयमा जोड दिइएको थियो।
भेटवार्ताले नेपाल र चीनबीचको पारस्परिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै आपसी हित र आर्थिक समृद्धिका क्षेत्रमा सहकार्य अघि बढाउने प्रतिबद्धतालाई थप बल पुर्याएको मन्त्री साहको सचिवालयले जनाएको छ।




















प्रतिक्रिया