Logo

समाचार

भीमफेदीमा ईभी भ्यान दुर्घटना, ११ जना घाइते



 

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका–१ स्थित बाद्रेभीरमा आइतबार दिउँसो ईभी भ्यान दुर्घटना हुँदा ११ जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

काठमाडौँबाट रौतहटको गौरतर्फ जाँदै गरेको बा।प्र।०३–००१ ज ०६७४ नम्बरको भाडाको ईभी भ्यान हेटौँडा–भैँसे सडकखण्डमा दुर्घटनामा परेको हो। प्रहरीका अनुसार भ्यान सडकको दाहिनेतर्फको भित्तामा ठोक्किएपछि बायाँतर्फको नालामा खसेको थियो।

दुर्घटनामा रौतहटको दुर्गा भगवती गाउँपालिका–१ का ३२ वर्षीय राजेश साह, ५० वर्षीय हरि साह, उनकी २६ वर्षीया छोरी चन्दा कुमारी साह र २३ वर्षीया छोरी शिवा कुमारी साह घाइते भएका छन्। हरिका पाँच वर्षीय नाति आर्यन साह पनि घाइते भएका छन्।

त्यस्तै, भारतको बिहारस्थित मोतिहारी जिल्लाका ३४ वर्षीय सर्फे आलम, रौतहटको चन्द्रपुर नगरपालिका–११ पडरियाटोलकी २४ वर्षीया सबिता कुमारी चौधरी, यमुनामाई गाउँपालिका–४ यादवटोलका १९ वर्षीय राहुल ठाकुर र धमनीमाई नगरपालिका–४ का १६ वर्षीय विजय कुमार ठाकुर घाइते भएका छन्।

प्रहरीका अनुसार राजेशको बायाँ खुट्टा, सर्फे आलमको नाक र बायाँ काँध, हरि साहको मुख, सबिताको बायाँ कोखा, राहुलको मुख तथा विजयको टाउको र दाहिने खुट्टामा चोट लागेको छ। चन्दा, शिवा र आर्यनको शरीरमा भित्री चोट लागेको बताइएको छ।

घाइते सबैलाई उपचारका लागि हेटौँडा अस्पताल लगिएको थियो। हरि साहको अवस्था गम्भीर भएपछि थप उपचारका लागि चितवनस्थित सीएमसी अस्पताल रिफर गरिएको प्रहरीले जनाएको छ। परिवारका अन्य सदस्य पनि उनीसँगै चितवन गएको विवरणमा उल्लेख छ।

दुर्घटनापछि भ्यान घटनास्थलमै रहेको छ भने चालक फरार छन्। प्रहरीले चालकको खोजी भइरहेको जनाएको छ। दुर्घटनाका कारण सडकमा यातायात अवरुद्ध नभएको र गाडीधनी शिवकान्त झासँग सम्पर्क भएको पनि प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति : १ कार्तिक २०८३, आईतवार १८:१८   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।