काठमाडौं। बडादसैं मनाउन राजधानीबाट गृहजिल्ला फर्किने यात्रुको आवागमन जारी रहे पनि पृथ्वी राजमार्गमा विगतका वर्षको तुलनामा सवारी चाप घटेको छ।
दसैंका कारण राजमार्ग आसपासका साना खाजा पसल तथा होटलहरू अधिकांश बन्द छन्। यद्यपि, मलेखु क्षेत्रका माछा होटल र बेनिघाटका स्टाफ होटलमा भने घर फर्किने तथा यात्रामा रहेका सर्वसाधारणको चहलपहल देखिन्छ।
राजमार्गमा ठूला मालवाहक सवारीसाधनको उपस्थिति न्यून छ। त्यसको तुलनामा यात्रुवाहक हायस, निजी सवारीसाधन, पर्यटक बोक्ने हरियो नम्बर प्लेटका गाडी तथा समूह बनाएर यात्रा गरिरहेका मोटरसाइकल बढी देखिएका छन्।
सवारी चाप घटे पनि पृथ्वी राजमार्गको यात्रा भने सहज छैन। राजमार्गका विभिन्न खण्डमा धुलो, हिलो र खाल्डाखुल्डीका कारण यात्रु तथा चालकले सास्ती खेप्नुपरेको छ।
विशेषगरी मोटरसाइकल र स्कुटर चालकका लागि सडक यात्रा जोखिमपूर्ण बनेको छ। धुलो र हिलोका साथै सडकका खाल्डाखुल्डीले सवारीसाधन चिप्लिने र दुर्घटना हुने जोखिम बढाएको छ।
दसैंका बेला घर फर्किने यात्रुको आवागमन जारी रहेकाले राजमार्गमा यात्रा गर्दा सावधानी अपनाउनुपर्ने देखिन्छ।




















प्रतिक्रिया