Logo

कर्पोरेट फोकस

‘एक्स्ट्रिम इनर्जी ड्रिंक’ को एउटै बट्टामा ९९ मिलिग्राम ‘क्याफिन’, के गर्दैछ गुण नियन्त्रण विभाग ?



काठमाडौं । पानीको विकल्पजस्तै गरी प्यास मेटाउने पेयका रूपमा आक्रामक प्रचार गरिँदै आएको ‘एक्स्ट्रिम इनर्जी ड्रिंक’ को एउटा बट्टामै ९९ मिलिग्राम क्याफिन रहेको पाइएको छ।

एग्रो थाई फुड्स प्रालिले उत्पादन तथा बिक्री वितरण गर्दै ३३० मिलिलिटरको उक्त पेयमा प्रतिएक सय मिलिलिटर ३० मिलिग्राम क्याफिन रहेको लेबलमै उल्लेख छ। आकर्षक विज्ञापनमार्फत आक्रामक तरिकाले उपभोक्तामाझ पुर्‍याइँदै आएको यो पेयको प्रचारशैली, स्वास्थ्य सुरक्षासम्बन्धी जानकारी र नियामक निकायको अनुगमनमाथि समेत प्रश्न उठेको छ।

यो सँगै ३३० मिलिलिटरको एउटा बट्टामै ९९ मिलिग्राम क्याफिन रहेको उत्पादनलाई पानीको विकल्पजस्तै प्रस्तुत गरिनु उपभोक्ता स्वास्थ्य र विज्ञापनको नियमनका दृष्टिले कति उचित हो भन्ने बहस पनि सुरु भएको छ। यो तथ्यले कम्पनीको विज्ञापन शैली, उत्पादनको लेबल र उपभोक्ताले पाउने जानकारीमाथि गम्भीर प्रश्न उठाएको छ।

एक्स्ट्रिम इनर्जी ड्रिंकको एउटा बट्टामा ३३० मिलिलिटर पेय हुन्छ, जसको मूल्य १४० रुपैयाँ उल्लेख गरिएको छ। उत्पादनको लेबलमा प्रतिएक सय मिलिलिटरमा ३० मिलिग्राम क्याफिन रहेको विवरण छ। यही अनुपातका आधारमा गणना गर्दा एउटा बट्टामा ९९ मिलिग्राम क्याफिन हुन्छ।

क्याफिनले केही समयका लागि सतर्कता बढाउने र थकान कम भएको अनुभूति गराउन सक्छ। तर, यसको सेवनको मात्रा, व्यक्तिको उमेर र स्वास्थ्य अवस्थाअनुसार असर फरक पर्न सक्छ। यसको अत्यधिक सेवनले निद्रामा समस्या, बेचैनी, मुटुको धड्कन बढ्ने र रक्तचापमा असर पर्ने जोखिम रहने चेतावनी बिज्ञहरुले पटकपटक दिँदै आएका छन्। बालबालिका, गर्भवती महिला तथा क्याफिनप्रति संवेदनशील व्यक्तिका हकमा यसको सेवनमा थप जोखिम मानिएको छ। पछिल्लो केहि समय यता एक्स्ट्रिम इनर्जी ड्रिंकको नियमित सेवनले मृगौलाका बिरामी बढिरहेको भेटिएको छ । यसका कारण यो ड्रिंक विवादमा परेको छ।

विवादको मुख्य बिषय  क्याफिनको मात्रामा मात्रै सीमित छैन, त्यसको प्रचार कसरी भइरहेको छ भन्ने पनि हो।  एक्स्ट्रिम इनर्जी ड्रिंकले विज्ञापनमा पानीको सट्टा उक्त पेयपदार्थ प्रयोग गर्न प्रेरित गर्ने सन्देश दिइएको छ। सामान्य प्यास मेटाउने पेय र क्याफिनयुक्त इनर्जी ड्रिंकबीचको भिन्नता उपभोक्ताले स्पष्ट रूपमा बुझ्न नसक्ने गरी प्रचार गरिएको छ त्यसले उत्पादनको वास्तविक प्रकृतिबारे भ्रम सिर्जना गरिरहेको छ।

पछिल्लो समय आकर्षक विज्ञापन र ब्रान्ड प्रचारमार्फत पेयपदार्थलाई दैनिक जीवनशैलीसँग जोडेर प्रस्तुत गर्ने प्रवृत्ति बढेको छ। यस्तो अवस्थामा विज्ञापनले उत्पादनको आकर्षक पक्ष मात्रै देखाउने कि त्यसमा रहेका पदार्थ र सेवनसम्बन्धी आवश्यक जानकारी पनि स्पष्ट पार्ने भन्ने प्रश्न महत्त्वपूर्ण हुन्छ। विशेषगरी एक्स्ट्रिम इनर्जी ड्रिंकले बालबालिका तथा युवालाई लक्षित हुने प्रचार गरिरहेको सामग्रीमा उपभोक्ता सुरक्षाको विषयलाई बेवास्ता गर्दै आएको छ।

त्यसैगरी, एक्स्ट्रिम इनर्जी ड्रिंकको बट्टामा सामग्रीसम्बन्धी विवरण अंग्रेजी भाषामा राखिएको तथा कम्पनीको सम्पर्क विवरण र क्युआर कोडबाट प्राप्त हुने जानकारीको पर्याप्ततामाथि पनि प्रश्न उठाएको छ।

के गर्दैछ नियामक ?

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको भूमिका उत्पादनको गुणस्तर र खाद्य सुरक्षाको अनुगमनमा महत्त्वपूर्ण हुन्छ। तर, यस सम्बन्धमा  विभागको भूमिका समेत संकास्पद मानिएको छ । एक्स्ट्रिम इनर्जी ड्रिंकको अथवा कुनै पनि उत्पादन बजारमा बिक्री भइरहेको वा नियामक प्रक्रियाबाट स्वीकृत भएको आधारमा मात्रै त्यसलाई सबै उमेर र स्वास्थ्य अवस्थाका व्यक्तिका लागि उपयुक्त मान्न सकिँदैन। उत्पादनमा प्रयोग भएका पदार्थ, क्याफिनको मात्रा, लेबलमा दिइएको विवरण र विज्ञापनमार्फत गरिएका दाबीसमेत उपभोक्ता सुरक्षाको दृष्टिले परीक्षण गरिनुपर्छ। तर, विभागले यस बारे कुनै चासो देखाएको छैन।

त्यसैले पनि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले एक्स्ट्रिम इनर्जी ड्रिंकको लेबल, गुणस्तर र विज्ञापनसम्बन्धी दाबीको अवस्था स्पष्ट पार्न आवश्यक रहेको माग उठिरहेको छ। उत्पादनमा रहेको क्याफिनको मात्रा नियामकीय मापदण्डअनुरूप छ वा छैन, उपभोक्तालाई आवश्यक चेतावनी दिइएको छ वा छैन र विज्ञापनले उत्पादनलाई पानीको विकल्पका रूपमा बुझाउने अवस्था सिर्जना गरेको छ वा छैन भन्ने विषयमा तथ्यमा आधारित अनुगमन आवस्यक देखिएको छ।

उपभोक्ताले कुनै पेयपदार्थको आकर्षक विज्ञापनका आधारमा मात्रै त्यसको सेवनसम्बन्धी निर्णय लिनुपर्ने अवस्था सिर्जना हुनु हुँदैन। उत्पादित बस्तु तथा सेवाम के–कस्ता पदार्थ समावेश गरिएका छन्, तिनको मात्रा कति छ र सेवन गर्दा के कुरामा सावधानी अपनाउनुपर्छ भन्ने जानकारी सहज भाषामा उपलब्ध गराउनु उत्पादकको जिम्मेवारी हो। त्यसकारण विज्ञापनको चमकभन्दा उपभोक्ताको स्वास्थ्य र सही सूचनाको अधिकारलाई प्राथमिकता दिनु नै नियमनको मूल उद्देश्य हुनुपर्ने आवस्यकता औल्याइएको छ।

यो पनि

एक्स्ट्रिम इनर्जी ड्रिंक्सका होर्डिङ बोर्ड अनधिकृत र मापदण्डविपरित

निषेधित क्षेत्रमा पोस्टर टाँसेपछि एक्सट्रिम ड्रिङ्कलाई एक लाख जरिवाना

लागुऔषध तस्करीको आरोपमा मुछिएको समूहको नयाँ धन्दा : बजारमा ‘एक्सट्रिम’ इनर्जी ड्रिंक

प्रकाशित मिति : १ कार्तिक २०८३, आईतवार २०:४५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।