Logo

विपद् प्रभावित क्षेत्रमा स्वास्थ्य शिविर चलाउन संसदीय समितिको सुझाव



काठमाडौं । भोटेकोशी एवं कालीगण्डकी करिडोरका विपद् प्रभावित क्षेत्रको अध्ययन तथा अनुगमन गर्न गठित संसदीय विशेष समितिले प्रभावित क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन गर्न, गोरखालाई अध्ययनको कार्यक्षेत्रमा समेट्न र जिल्लागत रूपमा छुट्टाछुट्टै अन्तरक्रिया गर्न सुझाव दिएको छ ।

मंगलबार बसेको समितिको बैठकमा विपद् प्रभावित समुदायको स्वास्थ्य अवस्था, क्षतिको विवरण र आवश्यकताको पहिचान गर्न अध्ययन तथा अनुगमनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिइएको हो ।

बैठकमा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिकी सभापति पूजा चौधरीले प्रभावित क्षेत्रमा मेडिकल टिम परिचालन गर्नुपर्ने बताइन् । विपद्पछिको कठिन परिस्थितिमा खटिएका तथा प्रभावित व्यक्तिमा शारीरिक र मानसिक स्वास्थ्य समस्या देखिन सक्ने भएकाले स्वास्थ्य शिविर सञ्चालन गर्न आवश्यक रहेको उनको भनाइ थियो ।

उनले प्रभावित क्षेत्रमा रुघाखोकी, भाइरल फ्लु तथा झाडापखालाजस्ता स्वास्थ्य समस्या हुन सक्ने उल्लेख गर्दै स्वास्थ्यकर्मी र सम्बन्धित विषयका विज्ञसहितको टोली परिचालन गर्न सुझाव दिइन् ।

त्यस्तै, सांसद सम्झना देवकोटाले बाढीबाट प्रभावित गोरखा जिल्लालाई पनि समितिको अध्ययन तथा अनुगमनको कार्यक्षेत्रमा समेट्नुपर्ने बताइन् । रसुवा र नुवाकोटसँगै गोरखामा पनि विपद्को प्रभाव परेको उल्लेख गर्दै उनले स्थानीय तहका प्रमुख तथा सम्बन्धित प्रशासनिक अधिकारीसँग छलफल गरी अध्ययनको कार्यतालिका बनाउनुपर्ने धारणा राखिन् ।

सांसद श्रीकृष्णप्रसाद अधिकारीले प्रभावित जिल्लाको अवस्था र क्षतिको विवरण स्पष्ट रूपमा बुझ्न छुट्टाछुट्टै अन्तरक्रिया कार्यक्रम गर्नुपर्ने सुझाव दिए । उनका अनुसार धादिङ र गोरखालाई समेटेर एउटा, नुवाकोटमा अर्को र रसुवामा छुट्टै अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्न सकिन्छ ।

अध्ययनलाई थप प्रभावकारी बनाउन प्रकोप, वातावरणीय स्वास्थ्य र वातावरण विज्ञानका विज्ञलाई पनि सहभागी गराउनुपर्ने अधिकारीको भनाइ थियो । उनले त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. रमेश पन्तलाई समेत अध्ययनमा सहभागी गराउने प्रस्ताव राखे ।

बैठकमा विपद् प्रभावित क्षेत्रको अवस्था, प्रभावित समुदायको स्वास्थ्य र आवश्यकतासँगै अध्ययन तथा अनुगमनको कार्यविधिबारे छलफल भएको थियो । जिल्लागत छलफल, स्वास्थ्यकर्मीको परिचालन र विज्ञको सहभागिताबाट प्रभावित क्षेत्रको वास्तविक अवस्था पहिचान गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : १० कार्तिक २०८३, मंगलवार १६:०९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।