Logo

अन्तर्वार्ता

भारतीय र चिनियाँ पर्यटक आकर्षित गर्न सके पर्यटनबाटै आर्थिक समृद्धि हासिल गर्न सकिन्छ: विनायक शाह



काठमाडौं । नेपालका होटलले वार्षिक ३५ देखि ४० लाख पर्यटकलाई अन्तर्राष्ट्रियस्तरको सेवा दिन सक्ने क्षमता राखे पनि त्यसको एक तिहाइ पर्यटकसमेत भित्रिन नसकेको होटल संघ नेपालका अध्यक्ष विनायक शाहले बताएका छन् । पर्यटन क्षेत्रको सम्भावनाअनुसार पर्यटक भित्र्याउन हवाई कनेक्टिभिटी, सरकारी नीति र प्रवद्र्धनमा सुधार गर्नुपर्ने उनको भनाइ छ ।

शाहका अनुसार सन् २०२५ मा नेपालमा ११ लाख ४७ हजार पर्यटक आएका थिए । यो नेपाली होटल उद्योगले सेवा दिन सक्ने क्षमताको एक तिहाइभन्दा पनि कम हो । होटल क्षेत्रमा खर्बौं रुपैयाँ लगानी भए पनि पर्यटकको संख्या अपेक्षाअनुसार नबढ्दा त्यसको पूर्ण उपयोग हुन नसकेको उनले बताए ।

‘हामी भारत र चीनको बीचमा छौं । दुवै देशका करोडौं नागरिक बिदा मनाउन विदेश जान्छन् । उनीहरूमध्ये केही प्रतिशतलाई मात्रै नेपाल ल्याउन सके पनि पर्यटनबाट ठूलो आर्थिक लाभ लिन सकिन्छ,’ शाहले भने ।

उनका अनुसार पर्यटन क्षेत्रको विकासले होटल उद्योगलाई मात्रै नभई कृषि, यातायात, बैंकिङ, हवाई सेवा र अन्य व्यवसायलाई समेत लाभ पु¥याउन सक्छ । यसका लागि सरकारले उपयुक्त नीति, कार्यक्रम, ऐन तथा कानुन बनाएर निजी क्षेत्रसँग सहकार्य गर्नुपर्ने उनले बताए ।

शाहले पर्यटक आगमन बढाउन पोखरा र भैरहवास्थित अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा सञ्चालनमा ल्याउनुपर्नेमा जोड दिए । यी विमानस्थल निर्माण भएको तीन वर्ष बितिसक्दा पनि अपेक्षित रूपमा सञ्चालन हुन नसक्नु पर्यटन विकासको प्रमुख अवरोध भएको उनको भनाइ छ ।

‘काठमाडौंको एउटा अन्तर्राष्ट्रिय विमानस्थलबाट मात्रै पर्यटकलाई सेवा दिइरहेका छौं । पोखरा र भैरहवा विमानस्थललाई प्रभावकारी रूपमा सञ्चालन गर्न सके भारत र चीनबाट मात्रै पनि लाखौं पर्यटक थप ल्याउन सकिन्छ,’ उनले भने ।

उनका अनुसार पोखरामा सीमित अन्तर्राष्ट्रिय उडान सुरु भए पनि थप अन्तर्राष्ट्रिय सेवा विस्तार गर्न आवश्यक छ । राष्ट्रिय ध्वजावाहकको सेवा विस्तार र क्षेत्रीय हवाई सम्पर्क विकास गर्न सके पर्यटनबाट देशले थप लाभ लिन सक्ने उनले बताए ।

नेपालमा पर्यटक बढाउन हवाई सेवा मात्रै पर्याप्त नहुने भन्दै शाहले सडक सञ्जालको स्तरोन्नतिलाई पनि प्राथमिकता दिनुपर्ने बताए । पोखरा, चितवन र लुम्बिनीलगायत पर्यटकीय गन्तव्य जोड्ने राजमार्गको निर्माण तथा स्तरोन्नति छिटो सम्पन्न गर्नुपर्ने उनको भनाइ छ ।

युरोपेली संघले नेपाली वायुसेवा कम्पनीलाई आफ्नो हवाई सुरक्षा सूचीमा राखेकाले युरोपेली पर्यटकको आवागमनमा समेत समस्या रहेको उनले उल्लेख गरे । पर्यटनसँग सम्बन्धित निकायमा रहेका समस्या समाधान गरी राष्ट्रिय रणनीति र कार्ययोजनाका आधारमा अघि बढ्नुपर्ने उनले बताए ।

सीपयुक्त जनशक्तिको अभाव

नेपालमा अन्तर्राष्ट्रिय होटल ब्रान्डको उपस्थिति बढ्दै गए पनि दक्ष जनशक्तिको अभाव रहेको शाहले बताए । उनका अनुसार नेपालमा करिब चार दर्जन अन्तर्राष्ट्रिय होटल ब्रान्ड सञ्चालनमा छन् । नेपाली होटलले विश्वस्तरको सेवा दिन सक्ने भए पनि होटल व्यवस्थापन तथा आतिथ्य सत्कारसम्बन्धी तालिम लिएका जनशक्ति विदेश जाने क्रम बढेको उनले बताए ।

‘हामीले नेपालमै तालिम दिएका जनशक्ति विदेश गइरहेका छन् । अर्कोतर्फ, होटलमा आवश्यक जनशक्ति नपाउँदा विदेशी कामदार ल्याएर काम गर्नुपर्ने अवस्था छ,’ उनले भने । जनशक्तिलाई स्वदेशमै टिकाउन सरकारी नीतिमा सुधार गर्नुका साथै नेपाल र विदेशमा काम गर्दा पाइने सेवा–सुविधाबारे पर्याप्त श्रम सूचना उपलब्ध गराउनुपर्ने उनको सुझाव छ ।

पर्यटकको बसाइ लम्ब्याउने गतिविधिमा ध्यान दिनुपर्छ

शाहले नेपालमा पर्यटकको बसाइ अवधि बढाउन परम्परागत पर्यटकीय गन्तव्यसँगै नयाँ गतिविधि र अनुभव विकास गर्नतर्फ ध्यान दिनुपर्ने बताए । उनका अनुसार काठमाडौं, चितवन, पोखरा र केही हिमाली क्षेत्रमै पर्यटक सीमित भइरहेका छन् । सातै प्रदेशका पर्यटकीय गन्तव्यको प्रवद्र्धन गरी पर्यटकलाई देशका विभिन्न भागमा पु¥याउन आवश्यक छ ।

‘हामीसँग सयभन्दा बढी सम्भावनायुक्त पर्यटकीय गन्तव्य छन् । ती गन्तव्यसम्म पर्यटक पु¥याउन सक्नुपर्छ,’ उनले भने । ट्रेकिङ, पर्वतारोहण, वेलनेस पर्यटन, खेल पर्यटन, विवाह पर्यटन, आध्यात्मिक पर्यटन तथा अन्तर्राष्ट्रिय सम्मेलनलाई पर्यटनका थप सम्भावनाका रूपमा उनले औंल्याए । यस्ता गतिविधि विस्तार गर्न सके पर्यटकको बसाइ लम्बिने र उनीहरूको खर्च बढ्ने उनको भनाइ छ ।

नेपाल सरकारले सन् २०२७ लाई ‘नेपाल अन्तर्राष्ट्रिय वेलनेस पर्यटन वर्ष’ घोषणा गरेको उल्लेख गर्दै शाहले यसलाई सफल बनाउन निजी क्षेत्रले काम गरिरहेको बताए । नेपालको प्राकृतिक वातावरण, जडीबुटी, योग, ध्यान तथा पूर्वीय ज्ञानलाई अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गर्न सके वेलनेस पर्यटनबाट लाभ लिन सकिने उनले बताए ।

दिगो पर्यटनमा जोड

शाहले जलवायु परिवर्तनका कारण पर्यटन क्षेत्रमा पर्न सक्ने असरलाई ध्यानमा राख्दै वातावरणमैत्री पर्यटन विकास गर्नुपर्ने बताए । नेपालमा हुने विपद् तथा प्रतिकूल मौसमसम्बन्धी समाचारले पर्यटकको निर्णयमा प्रभाव पार्न सक्ने भएकाले जोखिम व्यवस्थापन र सूचनाको विश्वसनीयता पनि महत्त्वपूर्ण हुने उनको भनाइ छ । उनका अनुसार नेपालले पर्यटनको सम्भावनाअनुसार लाभ लिन राष्ट्रियस्तरको स्पष्ट कार्ययोजना बनाउनुपर्छ ।

हवाई तथा सडक कनेक्टिभिटी विस्तार, दक्ष जनशक्ति व्यवस्थापन, नयाँ पर्यटकीय गतिविधिको विकास र सरकारी–निजी क्षेत्रको सहकार्यबाट पर्यटनलाई आर्थिक समृद्धिको प्रमुख आधार बनाउन सकिने उनले बताए ।

प्रकाशित मिति : १५ कार्तिक २०८३, आईतवार ०९:४७   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।