काठमाडौं । लोकेश बम, आन्द्रे रसेल र इमरान शेखको अर्धशतकमा विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल)मा जनकपुर बोल्ट्सलाई १७५ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगर किंग्सले २० ओभरमा ३ विकेट गुमाएर १७४ रन बनाएको हो ।
विराटनगरका लागि इमरान शेखले सर्वाधिक ५६ र ओपनर लोकेश बमले ५० रन बनाए । एनपीएल इतिहासमा एकै खेलमा दुई नेपाली ब्याटरले अर्धशतक प्रहार गरेको यो पहिलो पटक हो ।
इमरानले ४५ बल खेल्दै ५ चौका र २ छक्का मदतमा ५६ रन बनाए । लोकेशले ४० बल खेल्दा समान ३ चौका र ३ छक्का मदतमा ५० रन जोडे ।
ओपनर शेहान जयासूर्य टिमको स्कोर २ रन हुँदा नै आउट भएपछि वान डाउनमा आएका इमरान शेख र ओपनर लोकेश बमले दोस्रो विकेटका लागि १०७ रनको साझेदारी गरेका थिए ।
यस्तै आन्द्रे रसेलले २९ बलमा अविजित ५२ रन बनाए । उनले २ चौका र ५ छक्का प्रहार गरे । शुभम रन्जाने ७ रनमा अविजित रहे ।
बलिङमा जनकपुरका लागि अभिषेक तिवारीले २ तथा मोइन अलीले १ विकेट लिए ।





















प्रतिक्रिया