Logo

अर्थ

बीमा कम्पनीले गरे तीन महिनामा २३ अर्ब बीमा दाबी भुक्तानी, जीवन र निर्जीवन बीमकबाट कति ?



काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा बीमा कम्पनीहरूले २३ अर्ब रुपैयाँभन्दा बढी दाबी भुक्तानी गरेका छन्। नेपाल बीमा प्राधिकरणका अनुसार साउनदेखि असोजसम्म जीवन र निर्जीवन बीमा कम्पनीहरूले कुल २३ अर्ब १ करोड २० लाख रुपैयाँ दाबी भुक्तानी गरेका हुन्।

प्राधिकरणको तथ्यांकअनुसार जीवन बीमा कम्पनीहरूले ७७ हजार ७०९ वटा दाबीबापत १५ अर्ब १० करोड ८६ लाख रुपैयाँ भुक्तानी गरेका छन्। अघिल्लो वर्षको सोही अवधिमा ५८ हजार ८६३ वटा दाबीबापत ११ अर्ब ५७ करोड ५३ लाख रुपैयाँ भुक्तानी भएको थियो। अघिल्लो वर्षको तुलनामा चालु वर्षको असोजसम्म जीवन बीमकहरुको दाबी भुक्तानी भएका संख्या र रकम क्रमशः ३२.०२ प्रतिशत र ३०.५२ प्रतिशतले बढेको छ।

जीवन बीमकहरुको भुक्तानी हुन बाँकी दाबी संख्या र रकम दुवै बढेको छ। चालु वर्षको असोजसम्म भुक्तानी हुन बाँकी दाबी संख्या १ लाख २३ हजार ४८४ पुगेको छ भने ती दाबीको भुक्तानी हुन बाँकी रकम ९ अर्ब ९१ करोड ५३ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा जीवन बीमकहरुको भुक्तानी हुन बाँकी दाबी संख्या र रकम क्रमशः ११५.४३ प्रतिशत र १०१.९२ प्रतिशतले बढी हो। अघिल्लो वर्ष असोजसम्म जीवन बीमकहरुले ५७ हजार ३२१ वटा दाबीको ४ अर्ब ९१ करोड ४ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको थियो।

त्यस्तै, निर्जीवन बीमा कम्पनीहरूले ४१ हजार ३९४ वटा दाबीबापत ७ अर्ब ९० करोड ३३ लाख रुपैयाँ भुक्तानी गरेका छन्। अघिल्लो वर्षको सोही अवधिमा ३२ हजार ६१५ वटा दाबीबापत ५ अर्ब ६४ करोड २ लाख रुपैयाँ भुक्तानी भएको थियो। अघिल्लो वर्षको तुलनामा चालु वर्षको असोजसम्म भुक्तानी भएका दाबी संख्या २६.९२ प्रतिशत र भुक्तानी रकम भने ४०.१२ प्रतिशतले बढेको छ।

निर्जीवन बीमकहरुको भुक्तानी हुन बाँकी दाबी संख्या र रकम दुवै बढेको छ। चालु वर्षको असोजसम्म भुक्तानी हुन बाँकी दाबी संख्या १ लाख १३ हजार २५ पुगेको छ भने ती दाबीको भुक्तानी हुन बाँकी रकम ६० अर्ब ५ करोड ७० लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा निर्जीवन बीमकहरुको भुक्तानी हुन बाँकी दाबी संख्या र रकम क्रमशः २.५१ प्रतिशत र १५.०४ प्रतिशतले बढी हो। अघिल्लो वर्ष असोजसम्म निर्जीवन बीमकहरुले १ लाख १० हजार २५८ वटा दाबीको ५२ अर्ब २० करोड ४० लाख रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको थियो।

प्रकाशित मिति : २६ कार्तिक २०८३, बिहीबार १४:३८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।