Logo

प्रमुख समाचार

भीमफेदी दुर्घटनाका घाइतेको निःशुल्क उपचार र मृतकका परिवारलाई क्षतिपूर्ति दिन रविको माग



काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा भएको सडक दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन्।

छठ पर्व मनाउन घर फर्किंदै गरेका नागरिकले दुर्घटनामा अकालमै ज्यान गुमाउनुपरेको घटनाले आफूलाई मर्माहत र स्तब्ध बनाएको लामिछानेले बताएका छन्।

‘छठ मनाउन घर फर्किंदै गरेका आम नागरिकहरूले मकवानपुरको भीमफेदीमा भएको कहालीलाग्दो सडक दुर्घटनामा अकालमै ज्यान गुमाउनुपरेको घटनाले मलाई अत्यन्त मर्माहत र स्तब्ध बनाएको छ,’ सामाजिक सञ्जालमार्फत उनले भनेका छन्।

एउटै बस्ती र टोलमा परेको अकल्पनीय बज्रपातको पीडा शब्दमा व्यक्त गर्न असम्भव रहेको उल्लेख गर्दै उनले मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्। साथै, शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

लामिछानेले दुर्घटनामा घाइते भएकाहरूको सम्पूर्ण निःशुल्क उपचारको व्यवस्था मिलाउन तथा मृतकका परिवारलाई तत्काल उचित राहत र क्षतिपूर्ति उपलब्ध गराउन सरकार तथा सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।

‘यस दुखद घडीमा ज्यान गुमाउनुहुने सम्पूर्ण मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु। साथै, दुर्घटनामा परी घाइते हुनुभएका सम्पूर्ण नागरिकहरूको शीघ्र र पूर्ण स्वास्थ्यलाभको कामना गर्दछु,’ उनले भने।

प्रकाशित मिति : २६ कार्तिक २०८३, बिहीबार १५:०६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।