Logo

समाचार

भीमफेदी दुर्घटना : मृतकको परिवारको आगामी जिवनपार्जनको उचित व्यवस्था सरकारले गर्नुपर्छ – काङ्ग्रेस केन्द्रीय सदस्य गुरुङ



काठमाडौं । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं युवा नेता विद्वान गुरुङले मकवानपुरको भीमफेदीमा भएको विद्युतीय सवारीसाधन ईभी दुर्घटनामा १४ जनाको ज्यान गएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै पीडित परिवारलाई तत्काल राहत, उचित क्षतिपूर्ति र घाइतेको उपचारको सम्पूर्ण जिम्मेवारी राज्यले लिनुपर्ने माग गरेका छन्।

छठ पर्व मनाउन काठमाडौंंबाट सर्लाहीस्थित घर फर्किंदै गरेका यात्रु सवार ईभी दुर्घटनाग्रस्त हुँदा भएको ठूलो मानवीय क्षतिले आफू स्तब्ध र मर्माहत भएको उल्लेख गर्दै गुरुङले मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन्।

उनले दुर्घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेका छन्। दुर्घटनापछि सरकारको भूमिका र जिम्मेवारीमाथि प्रश्न उठाउँदै गुरुङले पीडित परिवारलाई समवेदना व्यक्त गरेर मात्रै राज्यको दायित्व पूरा नहुने स्पष्ट पारेका छन्।

उनले घाइतेहरूको उपचारमा कुनै कमी हुन नदिन, उपचारको सम्पूर्ण खर्च राज्यले व्यहोर्न, मृतकका परिवारलाई तत्काल उचित राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन र मृतकको काजकिरियादेखि परिवारको आगामी जीवनयापनसम्म आवश्यक व्यवस्था मिलाउन नेपाल सरकार र सम्बन्धित निकायसँग जोडदार माग गरेका छन्।

गुरुङले दुर्घटनाको निष्पक्ष छानबिन गरी घटनाको वास्तविक कारण सार्वजनिक गर्न तथा भविष्यमा यस्ता दुःखद घटना दोहोरिन नदिन प्रभावकारी र ठोस कदम चाल्नसमेत सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्।

उनले सरकारलाई लक्षित गर्दै भनेका छन्, “पीडित परिवारको आँसु पुछ्ने जिम्मेवारी राज्यको हो, आश्वासन होइन, तत्काल राहत र व्यवहारमा देखिने जिम्मेवारी चाहिन्छ।”

गुरुङको भनाइले दुर्घटनापछि राज्यले पीडित परिवारप्रति देखाउनुपर्ने संवेदनशीलता, जवाफदेहिता र तत्कालीन राहत व्यवस्थापनको आवश्यकतालाई पुनः उजागर गरेको छ ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

प्रकाशित मिति : २६ कार्तिक २०८३, बिहीबार १९:०७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।