मकवानपुर । भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा भएको भीषण ईभी दुर्घटनामा ज्यान गुमाएकाका आफन्तले उचित क्षतिपूर्ति र संघीय सरकारको विशेष निर्णय माग्दै शव बुझ्न अस्वीकार गरेका छन्।
पीडित परिवारले आफ्ना माग सम्बोधन गर्न संघीय सरकारले ठोस निर्णय गर्नुपर्ने अडान राखेका छन्। सरकारले स्पष्ट प्रतिबद्धता नजनाएसम्म शव नबुझ्ने उनीहरूको भनाइ छ।
यसअघि पीडित परिवारले मृतकका प्रत्येक परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने, परिवारका एक सदस्यलाई रोजगारीको व्यवस्था गर्नुपर्ने र घाइतेको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्नुपर्ने माग राखेका थिए। अहिले उनीहरूले यी मागमा संघीय सरकारबाटै विशेष निर्णय हुनुपर्ने अडान दोहोर्याएका छन्।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार दुर्घटनामा मृत्यु भएका १४ जनामध्ये एक जनाको शव आफन्तले बुझिसकेका छन्। बाँकी १३ जनाको शव हेटौँडा अस्पतालको शवगृहमा राखिएको छ।
पीडित परिवार, प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारी र जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीलगायतको उपस्थितिमा भएको छलफल निष्कर्षविहीन बनेको थियो। माग सम्बोधन र क्षतिपूर्तिका विषयमा शुक्रबार पनि छलफल हुने प्रहरीले जनाएको छ।
बिहीबार बिहान काठमाडौँबाट सर्लाही जाँदै गरेको ईभी हाइस भीमफेदी–६ स्थित चिसापानीगढीमा दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको थियो भने ६ जना घाइते भएका थिए।
एकै दुर्घटनामा आफन्त गुमाएका परिवारले शोकसँगै क्षतिपूर्ति र न्यायको माग अघि सारेका छन्। सरकारी निर्णयको प्रतीक्षामा रहेका उनीहरूले माग पूरा नभएसम्म शव नबुझ्ने अडान कायम राखेका छन्।





















प्रतिक्रिया