Logo

राजनीति

सरकारभन्दा सडक नै नजिक हुनु युवाको सरकारलाई सुहाउँदो भएन् : मिराज ढुंगाना



काठमाडौं । जेनजी अभियान्ता मिराज ढुंगानाले जातीय विभेद तथा छुवाछूतविरुद्ध लामो समयदेखि प्रदर्शन भइरहँदा पनि सरकारले वार्ता र समस्या समाधानका लागि पहल नगरेको भन्दै आलोचना गरेका छन् ।

‘सरकार, कोठा खाली छ?’ भन्ने नारासहित २०९ दिनदेखि माइतीघर मण्डलामा जारी प्रदर्शनमा सहभागी हुँदै ढुंगानाले जातीय विभेदजस्तो समस्या २१औँ शताब्दीमा पनि कायम रहनु दुःखद भएको बताए । उनले २०९ दिनदेखि आन्दोलनरत महिलाको माग सुन्नसमेत सरकारले चासो नदेखाएको टिप्पणी गरे ।

‘२०९ दिनदेखि कोही महिला जातीय विभेदविरुद्ध माइतीघरमा बसिरहनुभएको छ । कम्तीमा वार्ताका लागि पनि नबोलाउने, एजेन्डा के हो भनेर पनि सुन्न नआउने र अहिले पनि सरकारभन्दा सडक नै नजिक भएको अवस्था हुनु युवाको सरकारलाई सुहाउँदो कुरा होइन,’ उनले भने ।

उनले सरकारले नागरिकसँग नजिक भएर काम गर्ने अपेक्षा गरिए पनि व्यवहारमा त्यसो हुन नसकेको बताए । जातीय विभेद अन्त्य गर्नु जेनजी आन्दोलनको पनि चाहना भएको उल्लेख गर्दै उनले सरकारले यस्ता सामाजिक समस्याको समाधान खोज्नुपर्ने धारणा राखे ।

ढुंगानाले सुशासनलाई सरकारी कार्यालयमा भ्रष्टाचार नहुनुमा मात्रै सीमित गर्न नहुने बताए । आर्थिक वृद्धि, जनजीविकामा सुधार, महँगी नियन्त्रण र देशभित्रै रोजगारी तथा अवसर सिर्जना पनि सुशासनकै महत्त्वपूर्ण पक्ष भएको उनको भनाइ थियो ।

‘सुशासन भनेको सरकारी कार्यालयमा मात्रै हुनु हो त? कि आर्थिक वृद्धि, जनजीविकामा सुधार, महँगी नियन्त्रण र देशमा अवसर हुनु पनि सुशासनभित्र पर्छन् ।’ उनले भने ।

उनले वर्तमान सरकारप्रति जनताको अपेक्षाअनुसार काम हुन नसकेको टिप्पणी गर्दै सरकारको विकल्पका रूपमा तेस्रो राजनीतिक ध्रुव आवश्यक हुन सक्ने बताए । राष्ट्रिय स्वतन्त्र पार्टीले जनताको आशा र समर्थनअनुसार काम गर्न नसके वैधानिक प्रक्रियाबाट विस्थापित हुनुपर्ने उनको भनाइ थियो ।

‘नेपाली जनताले आशाको समर्थन गरेका हुन् । आशाअनुसार उहाँहरूले काम गर्नुभएन भने उहाँहरू विस्थापित हुनैपर्छ । वैधानिक तरिकामा उहाँहरू विस्थापित हुनुपर्छ र विद्रोहपछिको नयाँ शक्ति आउनुपर्छ,’ उनले भने ।

ढुंगानाले आफूहरू वर्तमान सरकारको आलोचना गर्दैमा आन्दोलनबाट पछि नहट्ने पनि स्पष्ट पारे । निर्वाचनअघि नै सरकार गठनको प्रक्रियाबारे असहमति राखेको स्मरण गर्दै उनले आफूहरू वैचारिक रूपमा निरन्तर प्रतिपक्षमा रहने बताए ।

उनले भने, ‘म व्यक्तिगत रूपमा आशावादी बन्न चाहन्छु तर तपाईंहरूले स्पष्ट रूपमा सोध्नुहुन्छ भने निर्वाचनभन्दा पहिला नै यो हुनुहुँदैन भनेको हो । आज सात महिनामा आउँदा देखियो नि त, म सही प्रमाणित भएँ ।’

उनले यसअघि केपी शर्मा ओली, सुशीला कार्की र वर्तमान सरकारको समेत आलोचना गर्दै आएको उल्लेख गरे । व्यक्तिगत सम्बन्ध आफ्नो ठाउँमा भए पनि राजनीतिक रूपमा आफू वर्तमान सरकारको प्रतिपक्षमा रहेको उनको भनाइ थियो ।

‘व्यक्तिगत मित्रता, व्यक्तिगत सम्बन्ध आफ्नो ठाउँमा होला । राजनीतिक रूपमा म उहाँको प्रतिपक्षी भएर, उहाँको सरकारको प्रतिपक्षीको रूपमा उभिरहेको छु । हाम्रो राजनीतिक दृष्टिकोण मिल्दैन,’ उनले भने ।

ढुंगानाले सरकारलाई अझै पनि जनताको अपेक्षाअनुसार काम गर्ने अवसर रहेको बताउँदै मुलुक विकास र समृद्धिको बाटोमा अघि नबढे आफूहरू वैचारिक रूपमा संघर्ष गर्न तयार रहेको बताए । उनले व्यक्तिगत स्वार्थभन्दा देशको हितलाई प्राथमिकतामा राखेर आफूहरू अघि बढ्ने पनि स्पष्ट पारे ।

प्रकाशित मिति : २७ कार्तिक २०८३, शुक्रबार १९:३०   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।