Logo

अर्थ

एआई प्रतिस्पर्धामा नेपालले हार्डवेयर–सफ्टवेयरमा ५०–५० को सन्तुलन अपनाउनुपर्छ : सौरभराज पन्त



काठमाडौं । ‘एआईको युगमा नेपाल अभियान’ का संयोजक सौरभराज पन्तले अमेरिका र चीनबीच विकसित हुँदै गएको नयाँ प्रविधिगत तथा भूराजनीतिक प्रतिस्पर्धामा नेपाल समयमै सचेत हुनुपर्ने बताएका छन्।

अमेरिकाले सन् २०२५ डिसेम्बरमा ‘प्याक्स सिलिका’ नामक रणनीतिक प्रविधि सहकार्यको पहल अघि बढाएको थियो। यसको मुख्य उद्देश्य आपूर्ति शृङ्खला, महत्वपूर्ण खनिज, कृत्रिम बुद्धिमत्ता, प्रविधि पूर्वाधार र रणनीतिक आपूर्ति प्रणालीलाई सुरक्षित तथा विश्वसनीय बनाउनु हो। यस पहलमा विभिन्न साझेदार राष्ट्रहरू सहभागी छन्।

यसको जवाफमा चीनले सन् २०२६ जुलाईमा ‘वर्ल्ड आर्टिफिसियल इन्टेलिजेन्स कोअपरेसन अर्गनाइजेसन (वाइको)’ स्थापना गरेको छ। यसको प्रारम्भिक संरचनामा २९ संस्थापक सदस्य रहेको र त्यसपछि सहभागिता विस्तार भएको बताइएको छ।

वाइकोले अन्तर्राष्ट्रिय कृत्रिम बुद्धिमत्ता सहकार्य, कृत्रिम बुद्धिमत्ताको सुशासन, प्रविधि हस्तान्तरण तथा कृत्रिम बुद्धिमत्तासम्बन्धी क्षमता अभिवृद्धिलाई प्राथमिकतामा राखेको छ।

पन्तका अनुसार ‘प्याक्स सिलिका’ र ‘वाइको’ लाई केवल प्रविधिसम्बन्धी पहलका रूपमा मात्र बुझ्नु पर्याप्त हुँदैन। यी विश्वव्यापी प्रविधि प्रणाली, रणनीतिक साझेदारी, आर्थिक प्रभाव र भविष्यको अन्तर्राष्ट्रिय शक्ति सन्तुलनसँग जोडिएका महत्वपूर्ण पहल हुन्।

एउटा अमेरिकी नेतृत्वको प्रविधि तथा आपूर्ति शृङ्खलामा केन्द्रित छ भने अर्को चिनियाँ नेतृत्वमा कृत्रिम बुद्धिमत्ता सहकार्य र प्रविधिको पहुँच विस्तारमा केन्द्रित छ।

उनले नेपालले यी दुवै पहललाई समयमै अध्ययन गरी आफ्नो राष्ट्रिय हितअनुकूल स्पष्ट धारणा निर्माण गर्नुपर्ने बताएका छन्। अन्यथा, अमेरिका र चीनबीच विकसित हुँदै गएको नयाँ प्रविधिगत तथा भूराजनीतिक प्रतिस्पर्धामा नेपाल अनावश्यक रूपमा रणनीतिक दबाब र द्वन्द्वको चपेटामा पर्न सक्ने उनको भनाइ छ।

नेपालमा पछिल्लो समय सूचना प्रविधि, गिग अर्थतन्त्र, नयाँ उद्यम तथा कृत्रिम बुद्धिमत्तालाई आर्थिक विकासका सम्भावित आधारका रूपमा प्रस्तुत गरिँदै आएको छ। तर यी क्षेत्रको विकास केवल आन्तरिक नीति र जनशक्ति विकासले मात्र सम्भव हुँदैन।

विश्वव्यापी प्रविधि पूर्वाधार, लगानी, डिजिटल बजार, तथ्याङ्क सुरक्षा, अन्तर्राष्ट्रिय मापदण्ड र रणनीतिक साझेदारीसँग पनि यसको प्रत्यक्ष सम्बन्ध हुन्छ।

पन्तले अमेरिकाको ‘प्याक्स सिलिका’ र चीनको ‘वाइको’ बीचको एआई प्रतिस्पर्धामा नेपालले हार्डवेयर र सफ्टवेयरबीच ५०-५० को सन्तुलित अवधारणासहित अघि बढ्न सक्ने बताएका छन्।

उनका अनुसार नेपालले एकातर्फ डेटा सेन्टर, कम्प्युटिङ पूर्वाधार, सर्भर, ऊर्जा र डिजिटल कनेक्टिभिटी जस्ता हार्डवेयर क्षेत्रमा लगानी तथा सहकार्यको सम्भावना खोज्नुपर्छ भने अर्कोतर्फ सफ्टवेयर विकास, एआई अनुसन्धान, डिजिटल सेवा, नवप्रवर्तन, दक्ष जनशक्ति र गिग अर्थतन्त्रको विस्तारमा जोड दिनुपर्छ।

पन्तले अहिलेको विश्वव्यापी रणनीतिक तथा प्रविधिगत प्रतिस्पर्धाको अवस्थामा चीन वा अमेरिकामध्ये कुनै एकलाई पूर्ण रूपमा बाहिर राखेर प्रविधिको विकास गर्न सम्भव नहुने बताएका छन्।

उनका अनुसार विश्व प्रविधि अर्थतन्त्र एकअर्कासँग अन्तरसम्बन्धित रहेकाले नेपालले दुवै देशसँग सहकार्यका सम्भावना खुला राख्नुपर्छ। त्यसैले हार्डवेयर र सफ्टवेयर विकासलाई समान प्राथमिकता दिँदै ५०-५० को सन्तुलित अवधारणाअनुसार चीन तथा अमेरिकासँग साझेदारी अवलम्बन गर्नु नेपालको राष्ट्रिय हितअनुकूल हुन सक्ने उनले बताएका छन्।

प्रकाशित मिति : २७ कार्तिक २०८३, शुक्रबार १९:५४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।