Logo

धर्म / संस्कृति

छठ पर्वले राष्ट्रिय एकता र सद्भाव सुदृढ बनाउन महत्त्वपूर्ण भूमिका खेल्छ : राष्ट्रपति



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वले समाजमा विद्यमान वर्गीय, जातीय, लैङ्गिकलगायत सबै प्रकारका विभेद, कुरीति र विसङ्गतिको अन्त्य गर्न प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् ।

छठ पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले मौलिक संस्कृतिको संरक्षण तथा संवद्र्धन गर्दै नेपालीबीच राष्ट्रिय एकता, आपसी सद्भाव र सहिष्णुता थप सुदृढ बनाउन यस पर्वले महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।

उनले यस पर्वले सामाजिक तथा प्राकृतिक सन्तुलनको सन्देश प्रवाह गर्दै आएको बताए । उनले सूर्य, जल र पृथ्वीप्रति श्रद्धा व्यक्त गर्दै छठी माताको पूजा, अर्चना र व्रत गरी नदी, खोला, पोखरी तथा तालतलैयाको किनारमा जाग्राम बसेर हर्षोल्लासका साथ छठ मनाउने परम्परा रहेको उल्लेख गरे ।

विशेषगरी तराई तथा मधेश क्षेत्रमा मनाइने छठ पर्व पछिल्लो समय काठमाडौं उपत्यकालगायत पहाडी तथा हिमाली जिल्लाहरूमा समेत श्रद्धा र भक्तिपूर्वक मनाउने चलन बढ्दै जानु खुसीको विषय भएको उनले बताए ।

दीर्घायु, स्वच्छता, सात्विक भोजन, संयमता, सद्भाव र समृद्धिको कामनासहित मनाइने यस पर्वले सूर्यदेवको आराधनामार्फत सामाजिक तथा प्राकृतिक सन्तुलनको सन्देश दिने उनले बताए ।

छठ पर्व अवसरमा स्वदेश तथा विदेशमा सबै नेपालीलाई शुभकामना समेत व्यक्त गरे । उनले छठ पर्वले सामाजिक विभेद र विसङ्गतिको अन्त्य गर्दै मुलुकमा दिगो शान्ति, सुशासन, विकास र समृद्धि हासिल गर्न प्रेरणा प्रदान गरोस् भन्दै छठी माता र सूर्य भगवान्सँग सबै नेपालीको कल्याणको कामना समेत गरे ।

प्रकाशित मिति : २९ कार्तिक २०८३, आईतवार ११:५३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।