Logo

समाचार

COP31 का उच्चस्तरीय कार्यक्रममा सहभागी भएर स्वदेश फर्किए अर्थमन्त्री वाग्ले



काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (COP31) अन्तर्गत जलवायु वित्तसम्बन्धी उच्चस्तरीय कार्यक्रमहरूमा सहभागी भएर अर्थमन्त्री डा. स्वर्णिम वाग्ले स्वदेश फर्किएका छन्।

तुर्किएमा आयोजित सम्मेलनका क्रममा अर्थमन्त्री वाग्लेले करिब एक दर्जन अन्तर्राष्ट्रिय कार्यक्रम तथा छलफलमा सहभागिता जनाएका थिए। उनले ४४ अतिकम विकसित राष्ट्रका तर्फबाट जलवायु वित्तसम्बन्धी सातौँ द्विवार्षिक मन्त्रीस्तरीय संवादलाई सम्बोधन गरेका थिए।

त्यसैगरी, सात वर्षअघि स्थापना भएको ‘जलवायु मुद्दाका लागि अर्थमन्त्रीहरूको गठबन्धन’मा नेपाललाई १०५औँ सदस्यका रूपमा सहभागी गराउँदै ‘उत्थानशीलताका लागि वित्त’ (Fiscal Space for Resilience) सम्बन्धी नीतिगत अवधारणा छलफलका लागि प्रस्तुत गरेका थिए।

सम्मेलनका क्रममा अर्थमन्त्री वाग्लेले बार्बेडसकी प्रधानमन्त्री मिया मोट्ली र बेलायतका विदेशमन्त्री एड मिलिब्यान्डसँग पनि भेटवार्ता गरेका थिए। विपद्पछि ऋणमोचनसम्बन्धी विश्वव्यापी अभियान र विशेष अन्तर्राष्ट्रिय प्याकेजमा सहकार्य गर्ने प्रतिबद्धता प्राप्त भएको उनको सचिवालयले जनाएको छ।

नेपालले COP31 मा उठाएका जलवायु वित्त तथा अन्य मुद्दामा अन्तर्राष्ट्रिय सहयोग जुटाउने उद्देश्यले अर्थमन्त्रीले पाँच प्रभावशाली जलवायु दूतसँग छुट्टाछुट्टै छलफल गरेका थिए। छलफलमा बेलायतकी रेचेल काइट, अस्ट्रेलियाका विल नानकर्भिस, स्विडेनका माटियास फ्रुमेरी, जमैकाका डेल वेबर र संयुक्त राष्ट्रसंघीय महासचिवका दूत सेल्विन हार्ट सहभागी थिए।

त्यस्तै, हरित जलवायु कोषको उच्च नेतृत्वसँग भविष्यका कार्यक्रमबारे छलफल गरेका वाग्लेले जेनेभास्थित विश्व मौसम विज्ञान संगठनको जलवायु मापन कोषसम्बन्धी कार्यक्रममा पनि सम्बोधन गरेका थिए। उक्त कार्यक्रमबाट नेपालले समेत लाभ लिइरहेको छ।

जलवायु तथा अर्थशास्त्रका विज्ञ प्राध्यापक योहान रक्स्त्रम र प्राध्यापक निकोलस स्टर्नसँग पनि अर्थमन्त्रीले भेटघाट गरेका थिए। सम्मेलनका क्रममा उनले द न्युयोर्क टाइम्स लाई अन्तर्वार्ता दिएका थिए। यसैबीच, सन् २०२६ का लागि टाइम पत्रिकाले छनोट गरेका जलवायु क्षेत्रका १०० प्रभावशाली व्यक्तित्वको सम्मानमा आयोजित कार्यक्रममा समेत अर्थमन्त्री वाग्ले सहभागी भएका थिए।

प्रकाशित मिति : २९ कार्तिक २०८३, आईतवार १३:३५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।