काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले वर्तमान सरकार परिवर्तन गर्ने वा सरकारमा सहभागी हुने पार्टीको कुनै योजना नरहेको बताएका छन्।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै भट्टराईले संसदीय प्रक्रियाबाट तत्काल सरकार परिवर्तन हुने सम्भावना नरहेको बताएका हुन्।
उनका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा को सरकारसँग स्पष्ट बहुमत रहेकाले एमालेले सरकार परिवर्तनको विषयमा कुनै पहल गर्ने अवस्था छैन।
‘राष्ट्रिय स्वतन्त्र पार्टीको सरकार छ, उहाँहरूसँग प्रचण्ड बहुमत छ,’ उनले भने, ‘उहाँहरूकै पार्टीभित्र आन्तरिक द्वन्द्व सिर्जना भएर विकल्प खोज्ने अवस्था आयो भने त्यो उहाँहरूको विषय हो। त्यसमा हामीले हस्तक्षेप गर्ने कुरा भएन।’
भट्टराईले सरकारका गतिविधिप्रति जनस्तरमा असन्तुष्टि र आक्रोश बढ्दै गएको दाबी गरे। सरकारले गलत गतिविधि जारी राखे जनताबाट सडकमा प्रतिवाद हुन सक्ने उनको भनाइ छ।
‘सरकारले गलत क्रियाकलाप अगाडि बढाउँदै गयो र जनस्तरबाट प्रतिवाद हुँदै गयो भने कहिलेकाहीँ सडकबाट पनि सरकारहरू बदलिएका छन्,’ उनले भने, ‘तर त्यो दुर्भाग्यपूर्ण बाटो हो। एमाले त्यो बाटो हिँड्दैन।’
उनले एमालेको प्राथमिकता अहिले सरकार परिवर्तन वा सरकारमा सहभागिता नभएको स्पष्ट पारे। ‘अहिले हामी सरकार बदल्ने वा सरकारमा जाने सोचमा छैनौँ। सरकारतिर हाम्रो आँखा नै छैन, सरकार बदल्ने हाम्रो एजेन्डा पनि होइन,’ उनले भने।
भट्टराईले आगामी राष्ट्रिय भेला स्थानीय तह र प्रदेशसभा निर्वाचनलाई केन्द्रित गरेर आयोजना गर्न लागिएको जानकारी दिए। भेलाले सरकारका गलत कामकारबाहीविरुद्ध पार्टीको धारणा तय गर्नुका साथै आवश्यक दबाब सिर्जना गर्ने उनले बताए।
पछिल्लो सात–आठ महिनामा सरकारका कामकारबाहीका कारण विभिन्न आलोचनात्मक अवस्था सिर्जना भएको उल्लेख गर्दै उनले त्यसबारे पार्टीले संस्थागत धारणा बनाउने बताए।
सरकारका जनविरोधी गतिविधिविरुद्ध राजनीतिक रूपमा दबाब सिर्जना गर्नु भेलाको अर्को उद्देश्य रहेको उनको भनाइ छ।





















प्रतिक्रिया