काठमाडौं। नक्कली मूल्य अभिवृद्धि कर भ्याट बिल प्रयोग गरी कारोबार गरेको अभियोगमा ५३ करोड रुपैयाँभन्दा बढी जरिवाना र कैद सजाय तोकिएका गुलसन श्रीवास्तव पक्राउ परेका छन्।
रौतहटको गरुडा नगरपालिका–१ निवासी श्रीवास्तवलाई केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०ले जिल्ला प्रहरी कार्यालय पर्साको समन्वयमा पक्राउ गरेको हो।
राजस्व अनुसन्धान विभागले नक्कली भ्याट बिल जारी गरी कारोबार गरेको आरोपमा श्रीवास्तवविरुद्ध मुद्दा दायर गरेको थियो। विभागको आग्रहमा सीआईबीले उनलाई नियन्त्रणमा लिएको हो।
विभागका अनुसार श्रीवास्तवले आफू प्रोपाइटर रहेको साङ्ग्रिला ट्रेड एन्ड सप्लायर्स, प्रिन्स इन्टरनेसनल, मयङ्क इन्टरप्राइजेज, शुभलक्ष्मी इन्टरनेसनल र न्यू महादेव इन्टरनेसनलमार्फत झुटा तथा नक्कली मूल्य अभिवृद्धि कर बिजक जारी गरी कारोबार गरेको आरोप छ।
सोही कसुरमा उनीविरुद्ध मुद्दा दायर भएको थियो। उक्त प्रकरणमा अदालतबाट ५३ करोड रुपैयाँभन्दा बढी जरिवाना र कैद सजाय तोकिएको जनाइएको छ।




















प्रतिक्रिया