काठमाडौं । नेपालको सार्वजनिक ऋण दायित्व २९ खर्ब ७५ अर्ब रुपैयाँ नाघेको छ। चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिनामै सरकारको कुल सार्वजनिक ऋण दायित्व २९ खर्ब ७५ अर्ब ११ करोड ८० लाख रुपैयाँ पुगेको हो। यो नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ४५ दशमलव ०८ प्रतिशत हो।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको २०८३ कात्तिक मसान्तसम्मको प्रतिवेदनअनुसार आर्थिक वर्षको सुरुवातमा २९ खर्ब ८१ अर्ब ७० करोड २८ लाख रुपैयाँ रहेको सार्वजनिक ऋण विनिमय दरमा भएको लाभसमेतका कारण घटेर २९ खर्ब ७५ अर्ब ११ करोड ८० लाख रुपैयाँ कायम भएको हो।
कुल सार्वजनिक ऋणमध्ये वैदेशिक ऋणको हिस्सा ५२ दशमलव ९३ प्रतिशत र आन्तरिक ऋणको हिस्सा ४७ दशमलव ०७ प्रतिशत छ। कात्तिक मसान्तसम्म सरकारको वैदेशिक ऋण १५ खर्ब ७४ अर्ब ६४ करोड २१ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, आन्तरिक ऋण १४ खर्ब ४७ अर्ब ५९ लाख रुपैयाँ रहेको छ।
सरकारले चालु आर्थिक वर्षमा कुल ६ खर्ब ५८ अर्ब २८ करोड रुपैयाँ सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखेको छ। तर, कात्तिक मसान्तसम्म १ खर्ब ५३ अर्ब ८४ करोड ७२ लाख रुपैयाँ मात्रै ऋण प्राप्त भएको छ। यो वार्षिक लक्ष्यको २३ दशमलव ३७ प्रतिशत हो।
सरकारले आन्तरिक ऋणतर्फ ४ खर्ब १० अर्ब र वैदेशिक ऋणतर्फ २ खर्ब ४८ अर्ब २८ करोड ७ लाख रुपैयाँ परिचालन गर्ने लक्ष्य राखेको छ। चार महिनामा आन्तरिक ऋणतर्फ १ खर्ब २५ अर्ब र वैदेशिक ऋणतर्फ २८ अर्ब ८४ करोड रुपैयाँ प्राप्त भएको छ। यसअनुसार आन्तरिक ऋण परिचालनको प्रगति ३० दशमलव ४९ प्रतिशत र वैदेशिक ऋण परिचालनको प्रगति ११ दशमलव ६२ प्रतिशत छ।
चार महिनामा प्राप्त कुल ऋणमध्ये आन्तरिक ऋणको हिस्सा ८१ दशमलव २५ प्रतिशत र वैदेशिक ऋणको हिस्सा १८ दशमलव ७५ प्रतिशत रहेको कार्यालयले जनाएको छ।
वार्षिक लक्ष्यअनुसार सरकारले अझै ५ खर्ब ४ अर्ब ४३ करोड ३५ लाख रुपैयाँ ऋण परिचालन गर्न बाँकी छ। यसमध्ये आन्तरिक ऋणतर्फ २ खर्ब ८५ अर्ब र वैदेशिक ऋणतर्फ २ खर्ब १९ अर्ब ४३ करोड ३५ लाख रुपैयाँ जुटाउनुपर्नेछ।
ऋणको साँवा र ब्याज भुक्तानीमै १ खर्ब ४० अर्ब खर्च
सरकारले चालु आर्थिक वर्षमा सार्वजनिक ऋणको साँवा तथा ब्याज भुक्तानीका लागि ४ खर्ब १७ अर्ब ८८ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। त्यसमध्ये कात्तिक मसान्तसम्म १ खर्ब ४० अर्ब ९३ करोड ६१ लाख रुपैयाँ भुक्तानी भइसकेको छ। यो वार्षिक विनियोजनको ३३ दशमलव ७३ प्रतिशत हो।
कुल गार्हस्थ्य उत्पादनको आधारमा चार महिनाको ऋण सेवा खर्च २ दशमलव १४ प्रतिशत रहेको छ। ऋण भुक्तानीमा भएको कुल खर्चमध्ये आन्तरिक ऋणतर्फ १ खर्ब १९ अर्ब १८ करोड ८२ लाख र वैदेशिक ऋणतर्फ २१ अर्ब ७४ करोड ७९ लाख रुपैयाँ खर्च भएको छ।
आन्तरिक ऋण भुक्तानीका लागि सरकारले वार्षिक ३ खर्ब २८ अर्ब १४ करोड रुपैयाँ विनियोजन गरेको छ। त्यसमध्ये कात्तिक मसान्तसम्म ३६ दशमलव ३२ प्रतिशत खर्च भएको छ। आन्तरिक ऋणको साँवा भुक्तानीमा ९९ अर्ब ९४ करोड र ब्याज भुक्तानीमा १९ अर्ब २४ करोड ८२ लाख रुपैयाँ खर्च भएको छ।
यसअनुसार आन्तरिक ऋणको साँवा भुक्तानीमा वार्षिक विनियोजनको ४० दशमलव ६४ प्रतिशत र ब्याज भुक्तानीमा २३ दशमलव ४० प्रतिशत खर्च भइसकेको छ।
त्यस्तै, वैदेशिक ऋण भुक्तानीका लागि विनियोजित ८९ अर्ब ७४ करोड ७० लाख रुपैयाँमध्ये चार महिनामा २१ अर्ब ७४ करोड ७९ लाख रुपैयाँ खर्च भएको छ। यो वार्षिक विनियोजनको २४ दशमलव २३ प्रतिशत हो।
वैदेशिक ऋणको साँवा भुक्तानीमा १७ अर्ब ३८ करोड र ब्याज भुक्तानीमा ४ अर्ब ३६ करोड ७९ लाख रुपैयाँ खर्च भएको छ। यसअनुसार वैदेशिक ऋणको साँवा भुक्तानीमा वार्षिक बजेटको २४ दशमलव ०७ प्रतिशत र ब्याज भुक्तानीमा २४ दशमलव ९० प्रतिशत खर्च भएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको प्रतिवेदनमा उल्लेख छ।




















प्रतिक्रिया