Logo

समाचार

बाबुराम भन्छन्– फोहर फ्याँकेजस्तो गरी सुकुम्बासी समस्या हल हुँदैन



काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले उपत्यकाका सुकुम्बासी बस्तीबाट हटाइएका वास्तविक सुकुम्बासीको दिगो बसोबासको व्यवस्था हुन नसक्नु विडम्बनापूर्ण भएको बताएका छन्।

वैकल्पिक आवासको व्यवस्था नगरी सरकारले होल्डिङ सेन्टर छाड्न निर्देशन दिएपछि भट्टराईले यस्तो प्रतिक्रिया दिएका हुन्।

उनले ग्रामीण अर्थतन्त्र कमजोर हुँदै गएपछि वैकल्पिक रोजगारीको खोजीमा सहर पस्न बाध्य श्रमिकहरू नै मुख्य रूपमा सुकुम्बासी बन्ने गरेको बताएका छन्।

सुकुम्बासीहरूले सहरमा सरसफाइ, घरेलु श्रम, हेरचाह सेवा तथा ढुवानीलगायतका क्षेत्रमा अत्यावश्यक श्रम प्रदान गरेर अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको उनको भनाइ छ।

‘खास ऐतिहासिक चरणमा संसारका सबै देश र सहरमा सुकुम्बासी समस्या उत्पन्न भएकै हुन्छ। त्यसलाई आधुनिक राज्यले विधिसम्मत र न्यायसङ्गत ढङ्गले हल गर्नैपर्छ,’ उनले भनेका छन्, ‘फोहर उठाएर फ्याँकेजस्तो तरिकाले यो आर्थिक–सामाजिक र मानवीय समस्या कहिल्यै हल हुन सक्दैन।’

सुकुम्बासी समस्यालाई सहरीकरणका क्रममा उत्पन्न हुने ऐतिहासिक प्रक्रियाका रूपमा बुझ्नुपर्ने उल्लेख गर्दै उनले सहरभित्रै गरिब तथा आवासविहीन नागरिकलाई सम्मानजनक आवासको व्यवस्था गरेर दीर्घकालीन समाधान खोज्नुपर्ने बताएका छन्।

यस्तो व्यवस्था गर्नु संविधान र समावेशी लोकतन्त्रको मर्मअनुरूप हुने उनको भनाइ छ।

प्रकाशित मिति : ११ मंसिर २०८३, शुक्रबार १४:१४   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।