Logo

समाचार

बालविवाह न्यूनीकरणसँगै सम्बन्ध विच्छेदका घटना पनि घटेका छन् : रजिष्ट्रार सापकोटा



काठमाडौं । बागमती प्रदेशका सञ्चार रजिष्ट्रार रेवतीप्रसाद सापकोटाले बालविवाह न्यूनीकरणका लागि स्थानीय तहबाट सञ्चालन गरिएका सचेतनामूलक कार्यक्रम प्रभावकारी देखिएको बताएका छन् ।

‘बालविवाह अन्त्यका लागि सञ्चारकर्मी तथा सरोकारवालाहरूको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै सापकोटाले बालविवाह घट्दै जाँदा त्यससँग सम्बन्धित सम्बन्ध विच्छेदका घटनामा समेत कमी आएको बताएका हुन् ।

ललितपुरको कोन्ज्योसोम गाउँपालिकालाई उदाहरणका रूपमा प्रस्तुत गर्दै उनले विगतमा उक्त क्षेत्रमा बालविवाह र सम्बन्ध विच्छेदका घटनाबीच समानान्तर सम्बन्ध देखिने गरेको बताए । तर पछिल्लो समय वडा तथा पालिकास्तरबाट सञ्चालन भएका सचेतनामूलक गतिविधिका कारण बालविवाह घटेसँगै सम्बन्ध विच्छेदका घटनामा पनि कमी आएको उनले बताए ।

उनले भने, ‘कोन्ज्योसोम गाउँपालिकामा पहिले बालविवाह र सम्बन्ध विच्छेदका घटना समानान्तर रूपमा बढ्ने गरेको अवस्था थियो । पछिल्लो समय वडा तथा पालिकास्तरबाट भएका सचेतनामूलक कार्यक्रमका कारण बालविवाह घटेको छ । बालविवाह घट्ने क्रमसँगै सम्बन्ध विच्छेदका घटनामा पनि कमी आएको देखिन्छ ।’

उनले नेपालमा बालविवाह अन्त्यका लागि सन् २०३० सम्मको लक्ष्य हासिल गर्न तीनै तहका सरकार, सञ्चारमाध्यम, विद्यालय, अभिभावक र समुदायको सक्रिय भूमिका आवश्यक रहेको बताए ।

सापकोटाले नेपाल बहुसूचक सर्वेक्षण २०२४–२५ को तथ्यांक प्रस्तुत गर्दै नेपालमा १८ वर्षअघि विवाह वा दाम्पत्य सम्बन्धमा प्रवेश गर्ने महिलाको राष्ट्रिय अनुपात ३३.८ प्रतिशत रहेको जानकारी दिए । प्रदेशगत तथ्यांकअनुसार मधेस प्रदेशमा सबैभन्दा बढी ४६.३ प्रतिशत र कर्णाली प्रदेशमा ४३.४ प्रतिशत रहेको उनले बताए । त्यस्तै, सुदूरपश्चिममा ३७.९, लुम्बिनीमा ३२.५, गण्डकीमा ३०.२, कोशीमा २६.९ र बागमती प्रदेशमा २६.२ प्रतिशत रहेको उनको भनाइ थियो ।

उनले बालविवाहले बालबालिकाको शिक्षा, स्वास्थ्य, रोजगारी, सुरक्षा र निर्णय गर्ने क्षमतामा प्रत्यक्ष असर पार्ने बताए । आर्थिक अभाव, विद्यालय शिक्षामा निरन्तरताको समस्या र सामाजिक दबाबका कारण पनि बालविवाह हुने भएकाले छात्रवृत्ति, सामाजिक सुरक्षा तथा जीविकोपार्जनका कार्यक्रमसँग बालविवाह न्यूनीकरण अभियानलाई जोड्नुपर्ने उनको सुझाव थियो ।

प्रकाशित मिति : ११ मंसिर २०८३, शुक्रबार १५:५०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।