नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले संविधान सभाले नयाँ संविधान लेख्ने बेलामा नेपालका ठूला ठूला हिन्दु धर्मावलम्बी र धार्मिक गुरुहरु मौन बसेको कारण नेपाल धर्म निरपेक्ष राष्ट्र बन्न पुगेको दाबी गरेका छन्।
फागु पर्वको अवसरमा बुधबार टोखास्थित आफ्नै निवासमा शुभकामना आदनप्रदानका लागि आयोजित कार्यक्रममा महामन्त्री कोइरालाले पत्रकारहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै नेपालको संविधानमा भर्म निरपेक्षता लेखिँदा त्यी गुरुहरुले विरोध नगर्नुको पछाडि उनीहरुले विदेशीका पैसा खाएको हुन सक्ने गम्भिर आशंका पनि व्यक्त गरे।
‘जब संविधानको मस्यौदामा धर्म निरपेक्ष लेखेको थियो तब धर्मावलम्बीहरु कहाँ थिएरु उनीहरुको कहि विरोध भएन। ठूला ठूला गुरुहरु कसैले पनि विरोध गरेनन्,’ कोइरालाले थप्दै भने, ‘सायद उनीहरुले क्रिश्चियानीटीको पैसा खाएका थिएकी के भन्न सकिन्छ ?’
कांग्रेसको चारतारे झण्डामा रहेका चारतारमध्ये एक ताराको अर्थ धार्मिक स्वतन्त्रता भएको बताउँदै महामन्त्री कोइरालाले भने, ‘तसर्थ धर्म स्वतन्त्र हुनु पर्दछ। धर्म न निरपेष हुन्छ न धर्म सापेक्ष हुन्छ, त्यो धर्म स्वतन्त्र हुन्छ।’
नेपालको जनसंख्यामध्ये अधिकांश जनताको विश्वास हिन्दु धर्मप्रति भएको बताउँदै उनीहरुले आफूँसँग यसबारे कुरा उठाँउन आग्रह गरेको पनि उनले बताए।
‘उनीहरुको माग अनुसार यहाँ यात जनमत संग्रह गराउनु पर्यो धर्मको बारेमा, जसमा पार्टीले हस्तक्षेप गर्नु हुँदैन। जसलाई जे ठिक लाग्छ त्यहि गर्नु पर्दछ भनि आजको दिनमा पनि त्यहि भन्न चाहन्छु कि नेपालमा धार्मिक स्वतन्त्रता हुनु पर्दछ,’ कोइरालाले भने।
हिन्दु धर्मको विषयमा व्याख्या गर्दै कोइरालाले यस धर्मकोबारेमा कतिपयलाई मन्दिरमा गएर ढोग्नु पर्छ भन्नेबारे सामान्य जानकारी समेत नभएको हुन सक्ने बताए।
‘हिन्दु धर्मको बारेमा पनि कतिजनालाई थाहा छैन होला, हाम्रो कुनै ग्रन्थमा लेखेको छ कि पशुपतिमा गएर ढोग्नु पर्दछ भनेर छ ररु छैन नि। तर, के भनेको छ भने भगवान त्यी मानिन्छन् त्यहाँ तिमी आफैँले खोज, त्यो स्वतन्त्रता दिएको छ। त्यो स्वतन्त्रताको प्रतिक हो नेपाली कांग्रेस। त्यसैले मैले धार्मिक स्वतन्त्रता भनेको,’ उनले भने।
नेपालमा धार्मिक स्वतन्त्रता कायम गराउने विषयमा जनमत संग्रह आवश्यक रहेको बताउँदै त्यसका लागि पहिले त सरकार तयार हुनु पर्ने बताए।‘जनताको भावना वमोजिम सरकारलाई यो हुनु पर्यो कि यसमा हामी जनमत संग्रह गराउँछौँ,’ उनले भने। तर, सरकारलाई जनमत संग्रहको विषयमा तयार पार्न अहिले दबाब नपुगेको बताउँदै उनले भने, ‘त्यसका लागि प्रेसर हुनु पर्यो।’
पार्टी गुट–उपगुटमा विभाजित हुँदा सिंगो संगठन कमजोर भएको बताउँदै उनले आफू आजैबाट पार्टीभित्र एकता र मेलमिलापका लागि पहल सुरु गर्ने पनि बताए।फागु पर्व एकता, मेलमिलाप र सम्बन्ध स्थापित गर्ने पर्व भएकाले आजैका दिनबाट पार्टीभित्र एकताको खोजी गरिने उनको भनाई छ।
कोइरालाले कार्यकर्ताको चाहना बमोजिम पार्टीलाई एकढिक्का बनाएर अघि बढाउन पार्टी सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेललाई पनि आग्रह गरे।सदन र सडकमा पार्टीको भूमिका कमजोर भएको भन्ने प्रसंगमा महामन्त्री कोइरालाले सदनदेखि सडकका आम जनतासम्म आफूहरुले राष्ट्रिय महत्वका विषयहरुमा आवाज उठाइरहेको दाबी गरे।
‘सदनमा मात्र होइन जनताकोबीचमा गएर वाइड बडी खरिदमा भएको अनियमितता, बुढीगण्डकीको कुरा, भ्रष्टाचारको कुरा, निर्मला हत्याकाण्डको लगायत अनेकौँ कुराहरु हामीले उठाएका छौँ,’ कोइरालाले भने।यी विषयमा आफूहरुले सदनमा मात्र नभएर बेला बखतमा मिडियामार्फत पनि आवाज उठाएको उनको दाबी छ।
‘सदनमा र बेला बखतमा मिडियामा पनि गएर कुरा उठाएका छौँ। हो हामी कमजोर छौँ अहिले यसमा पत्रकारहरुले हाम्रा कुरा पनि लेखिदिनु हुन्न,’ उनले मिडियाप्रति गुनासो गर्दै भने।
अहिले राज्यको चौथो अंगका रुपमा रहेको प्रेसमाथि पनि राज्यबाट चुनौति रहेको बताउँदै अभिव्यक्ति स्वतन्त्रता र स्वतन्त्र प्रेसमाथि हस्तक्षेप भयो भने आफू र आफ्नो पार्टी कांग्रेसले त्यसको रक्षाका लागि आवाज उठाउने उनले आश्वासन दिए।
नागरिकको मौलिक हक तथा प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप भयो भने त्यसलाई जोगाउने जिम्मेवारी कांग्रेसको मात्र नभएको बताउँदै उनले भने, ‘स्वतन्त्रतामाथि हस्तक्षेप भयो भने त्यो जोेगाउन र यसका विरुद्ध आवाज उठाउने कांग्रेसको मात्र जिम्मेवारी होइन। प्रेसको पनि जिम्मेवारी हो र तपाइहरुले पनि यो आवाज बुलन्द गर्नु पर्छ भन्ने मलाइ लाग्दछ।’




















प्रतिक्रिया