आज (सोमबार) पनि देशका विभिन्न स्थानमा हावाहुरी र मेघगर्जनसहित वर्षा हुने भएको छ ।
जलवायु तथा मौसम पूर्वानुमान महाशाखाले दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जन र चट्याङ तथा हावाहुरीसहित वर्षाको सम्भावना रहेको जनाएको छ ।
महाशाखाका अनुसार सोमबार देशका धेरै ठाउँमा हावाहुरी र मेघगर्जनसहित पानी पर्नेछ । दिउँसोपछि बदली भई धेरै ठाउँमा हुरीबतास र चट्याङसहित पानी पर्ने भएकाले मौसमविद्ले सावधानी अपनाउन आग्रह गरेका छन् । उनीहरुले नआत्तिन पनि सर्वसाधारणलाई अपिल गरेका छन् ।
दिउँसोपछि बदली भएर बेलुकीतिर हुरीबतास र चट्याङ पर्नु स्वभाविक भए पनि यो वर्ष प्रिमनसुन सक्रिय देखिएको छ । पश्चिमी वायु र पूर्वमा बनेको न्यूनचापीय रेखाको प्रभावले अहिले सफा भएको ठाउँको मौसम पनि बदली हुनेछ । राति पनि मौसम बदली हुने र थोरै स्थानमा चट्याङ र हावाहुरीसहित पानी पर्ने पूर्वानुमान छ ।
महाशाखाका अनुसार आज (सोमबार) दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने तथा पूर्वी र मध्य भूभागका केही स्थानमा तथा पश्चिमी भूभागका थोरै स्थानमा मेघ गर्जन र चट्याङ तथा हावाहुरीसहित वर्षाको सम्भावना छ ।
भोलि (मंगलबार) दिउँसो भने देशभर आंशिकदेखि सामान्य बदली रहने तथा पूर्वी र मध्य भू-भागका केही स्थान तथा पश्चिमी भागका केही स्थानमा मेघ गर्जन र चट्याङ तथा हावाहुरीसहित हल्का वर्षाको सम्भावना छ ।
महाशाखाले जारी गरेको मौसम पूर्वानुमानसम्बन्धी बुलेटिनमा तीनैदिन हावाहुरी र चटयाङको सम्भावना औंल्याइएको छ ।




















प्रतिक्रिया