Logo

पत्रपत्रिका

नेपालमा देखियो कोरोना भाइरस, दुईजना शंकास्पदको उपचार हुँदै



चीनबाट फैलिएको कोरोना भाइरस नेपालमा पनि देखिएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलनमार्फत यो भाइरस देखिएको जानकारी गराएको हो । चीनबाट फर्किएका एक नेपाली युवामा कोरोना भाइरसको संक्रमण भेटिएको मन्त्रालयले जनाएको छ ।

‘हामीले आज दुःखसाथ भन्नुपर्छ, एक नेपालीमा नोबेल कोरोना भाइरस पोजेटिभ देखिएको छ,’ मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले भने । दुई साताअघि जनकपुरनिवासी ३२ वर्षीय युवा ज्वरो आउने, श्वासप्रश्वासमा समस्या, रुघाखोकीका कारण सहिद शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकु भर्ना भएका थिए ।

उपचारका क्रममा कोरोना भाइरसको आशंकामा उनको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नमुना परीक्षण गरिएको थियो । तर, परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि विश्व स्वास्थ्य संगठनले अग्रसरता देखाएर उनको रगत र र्‍यालको नमुना विशेष परीक्षणका लागि हङकङ पठाइएको थियो । बिहीबार राति प्राप्त रिपोर्टमा उनमा कोरोना भाइरस पोजेटिभ देखिएको छ । नेपाली नागरिकमा पनि कोरोना पोजेटिभ देखिएपछि स्वास्थ्य मन्त्रालयले कडा सुरक्षा अपनाएको जनाएको छ । शुक्रबार साँझ मन्त्रालयले नेपालमा समेत कोरोना भाइरस देखिएको भन्दै विश्व समुदायलाई औपचारिक जानकारी गराएको छ । कोरोना भाइरसले अहिलेसम्म चीनमा २५ जनाको मृत्यु भइसकेको छ । चीनबाट फैलिएको यो भाइरस नेपाल, जापान, अमेरिकासम्म पुगिसकेको छ ।

कोरोना भाइरसबाट संक्रमण भएको आशंकामा दुईजना अस्पताल भर्ना भएका छन् । अधिकारी थरका एक बिरामी सरुवा रोग अस्पताल टेकु र अर्का काठमाडौंकै एक निजी अस्पतालमा भर्ना भएका छन् । दुवै बिरामीको नमुना परीक्षण गर्न विदेश पठाउने तयारी छ ।

टेकु अस्पतालले आपत्कालीन सेवाका लागि शुक्रबारदेखि आठ शय्या आइसोलेनसन वार्ड सञ्चालनमा ल्याएको छ । अस्पतालका सरुवा रोग विशेषज्ञ डा। अनुप बास्तोलाको नेतृत्वमा कोरोना भाइरस आशंका गरिएका बिरामीहरूको उपचार थालिएको छ ।

यस्ता लक्षण

पशुबाट पशुमा सर्ने यो भाइरस हाल मानिसबाट मानिसमा समेत सरेको पाइएको छ । यो भाइरसले सामान्य रुघाखोकीदेखि गम्भीर प्रकारको तीव्र श्वासप्रश्वास गराउन सक्छ । ज्वरो आउने, श्वासप्रश्वासमा अत्यधिक समस्या, रुघाखोकी लाग्ने, टाउको तथा जिउ दुख्ने लक्षण देखिन सक्छ । कोरोना भाइरस प्रभावित क्षेत्र तथा देशबाट आउने व्यक्तिमा दुई साताभित्र रुघाखोकी लागेमा वा माथिका जस्ता लक्षण देखिए तुरुन्त चिकित्सककहाँ जानुपर्छ । रुघाखोकी तथा श्वासप्रश्वासका बिरामीको नजिक नजाने तथा हातको सरसफाइ नियमित गरेमा संक्रमणको सम्भावना कम रहन्छ । हात मिलाउन छाडेर नमस्कार गर्नु उपयुक्त हुन्छ ।

जोगिने उपाय

नियमित रूपमा साबुनपानीले हात धुने, खोक्दा र हाच्छ्यूँ गर्दा नाक र मुख छोप्ने, यदि फ्लु जस्तो लक्षण देखिएमा चिकित्सकसँग परामर्श लिने, फ्लु जस्तो लक्षण देखाउने जो कोहीले सम्पर्कबाट टाढा रहने, जंगली तथा घरेलु पशुपक्षीहरूसँग असुरक्षित सम्पर्कबाट टाढा रहने, पशुजन्य मासु र अन्डा राम्रोसँग पाकेको मात्र खाने । कोरोना भाइरसले गर्दा हुने रोगका लागि कुनै खास उपचार छैन । तर, यो भाइरसले निम्त्याएका धेरै लक्षणको उपचार गर्न सकिन्छ । नयाँ पत्रिकाबाट

प्रकाशित मिति : ११ माघ २०७६, शनिबार ०७:२९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।