Logo

नेकपामा प्रचण्ड हावी, ओली रक्षात्मक



प्रचण्ड बहुमत सहित देशको सत्ताको बागडोर सम्हालिरहेको सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय समितिको बैठक आज दोस्रो दिन पनि जारी छ ।

धुम्बाराही सहित पेरिसडाँडा र राष्ट्रिय सभागृहमा केन्द्रीय सदस्यहरु समूहगत छलफलको सुरसार गर्दै गर्दा कतिपय समूहमा अहिलेसम्म टोली नेता छान्नै सकस परिरहेको छ । १५ वटा समूह बनाउने भनिएपनि अधिकांश टोलीले नेता छान्न नसक्दा छलफल नै प्रभावित भएको छ । कतिसम्म भने टोली नेता छान्न समेत भागबन्डा गर्नुपरेको कुरा सार्वजनिक भएको छ ।

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीमा पछिल्ला दिनमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड हावी हुँदै गएको देखिएको छ । पार्टीको सचिवालयमा स्पष्ट बहुमतमा रहेका दाहाल अब केन्द्रीय समितिमा पनि बलियो देखिएका छ्न् ।

उता पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली भने पार्टीभित्र निरन्तर कमजोर बन्दै गएको परिदृश्य देखिएको छ । सभामुख चयनबाट ओरालो यात्रामा लाग्न बाध्य बनेका प्रधानमन्त्री ओली अझै कति ओरालो लाग्नुपर्ने हो त्यो आगामी दिनमा प्रष्ट होला तर सरकार संचालनमा प्रचण्डको हस्तक्षेप बढ्ने आकलन सर्वत्र गरिदैं छ ।

ओलीका विश्वासप्राप्त महासचिव विष्णु पौडेलले पेश गरेको विधान संशोधन प्रस्ताव पारित भए प्रचण्ड अझै शक्तिशाली बन्न सक्ने सम्भावना छ । सत्तारूढ नेकपाको केन्द्रीय समितिमा पेश भएको प्रतिवेदन अनुसार दुई नेता वरिष्ठ नेताको रुपमा रहने छन् । एक उपाध्यक्ष प्रस्ताव गरिएको छ, यो विधान पारित भए ओली अझै कमजोर बन्न सक्छन् । किनकि नेकपाको वरिष्ठ नेतामा माधव नेपालले बाजी मार्दा उपाध्यक्ष वामदेव गौतम बन्नेछन् । अहिले स्पष्ट ओली विरोधी खेमामा देखिएका नेपाल र गौतमको शक्ति बढ्दा अन्ततः प्रचण्डलाई नै फाइदा पुग्ने आकलन गरिएको छ ।

अध्यक्षद्वयले तयार पारेको भनिएको राजनीतिक प्रदिवेदनमा पनि प्रचण्ड अगाडि देखिन्छन् । जनताको जनवादलाई पार्टीको प्रमुख सिद्धान्त बनाउन बाध्य बनाएका प्रचण्डले जनताको बहुदलीय जनवाद कतै उल्लेख नगराउन सफल भएका छन । त्यसैगरी प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई मुख्य शत्रु करार गराउन समेत उनी सफल भएका छन् । भलै कांग्रेससँग निकटको उठबस प्रचण्डकै रहेको नेकपाका नेताहरुको ठहर छ ।

त्यस्तै केन्द्रीय समितिको समूहगत छलफलमा नेकपा केन्द्रीय सदस्यहरुले राष्ट्रियताको सवालमा सरकार नराम्रोसँग चुकेको मात्रै हैन भारतले कालापानी, लिपुलेक र लिम्पियाधुरा गाभेर नयाँ नक्सा जारी गर्दासमेत स्पष्ट दृष्टिकोण राख्न नसकेको भन्दै आलोचना गरेका छन भने एमसीसीलाई संशोधन सहित पास गर्न नेतृत्वलाई दबाब दिन माग गरेका छन् । एमसीसीमा प्रचण्डको अडान पनि संशोधन सहित पास गर्नुपर्ने पक्षमा रहँदा प्रधानमन्त्री ओली भने एमसीसी पास गर्नुपर्ने भन्दा अरु कुरा सुन्नै चाहाँदैनन् ।

केन्द्रीय समितिको कार्यसूची अनुमोदन हुनुपूर्व नै प्रधानमन्त्री ओलीले सरकारको रक्षा गर्दै १ सय २५ मिनेट लामो भाषण दिनुले पनि ओली रक्षात्मक बन्दै गएको पुष्टि हुने जानकारहरुको भनाइ छ । केन्द्रीय सदस्यहरु नै ओलीले आफ्ना मात्रै कुरा सुनाउन आएको हाम्रा कुरा नसुनेको भन्दै हलमा प्रतिवाद गर्दा प्रचण्डले नै नेताहरूलाई थामथुम पार्नुपरेको थियो ।

त्यस्तै पछिल्ला दिनमा सरकारको संरक्षणमा राष्ट्रिय सम्पत्तिमा ब्रह्मलूट मच्याएको विवादास्पद यती समूहको बचाउ गर्दै सरकारले कानूनसम्मत नै यती समूहलाई नेपाल ट्रष्टको सम्पत्ति प्रयोग गर्न दिएको भन्दै लामो र पट्यारलाग्दो स्पष्टीकरण दिएको केन्द्रीय सदस्यहरु नै बताउँछन् ।

त्यस्तै पछिल्ला दिनमा निकै चर्चामा रहेको एमसीसीका प्रावधान बारे कुनै छलफल नै नगरी त्यो विकासको लागि भएको र त्यसको अनुमोदन गर्नुपर्ने निर्देशनात्मक सम्बोधन गर्नुबाहेक ओलीले आफ्नैनेताहरुको मन जित्ने कुनै काम गर्न नसकेको चर्चा नेकपा भित्रै चल्नुले पनि ओली दिनानुदिन कमजोर बन्दै गएको र कार्यकारी अध्यक्ष प्रचण्डको हावी बन्दै गएको विश्लेषण गरिदैंछ ।

प्रकाशित मिति : १६ माघ २०७६, बिहीबार १५:५७   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।