अस्ट्रेलियाको स्मेक र चीनको थ्री गर्जेजले २२ वर्षसम्म ओगटेर नबनाएको ७ सय ५० मेगावाटको पश्चिमसेती आयोजना जापान, अमेरिका र कतारको लगानीमा अघि बढ्ने भएको छ । तीन देशका लगानीकर्ताको संयुक्त उपक्रमको कम्पनी म्याट्रिक्स इन्टरनेसनलसँग लगानी बोर्डले आयोजना निर्माणको आर्थिक तथा प्राविधिक प्रस्ताव माग गर्ने तयारी गरेको हो । यसअघि चीनको थ्री गर्जेज आयोजना लगानीयोग्य नभएको भन्दै लगानी गर्नबाट पछि हटेका कारण बोर्डले सोही नदीमा बन्ने ४ सय ५० मेगावाटको अर्को आयोजना एसआर–६ लाई समेत पश्चिमसेतीसँगै एउटै कम्पनीलाई निर्माणको जिम्मा दिने भएको छ । अब समग्र पश्चिमसेती–एसआर ६ आयोजनाको क्षमता १२ सय मेगावाट पुग्ने भएको छ । साथै, आयोजनामा कुल लगानी २ खर्ब ७४ अर्ब हुने लगानी बोर्डको अनुमान छ ।
उक्त परियोजनाको ‘रिक्वेस्ट फर प्रपोजल’ (आरएफपी) को मस्यौदा तयार गरिसकेको बोर्डका प्रवक्ता बलराम रिज्यालले जानकारी दिए । ‘जापानको फुजी इलेक्ट्रिक, कतारको नब्रास जलविद्युत् कम्पनी र अमेरिकाको जे पावरको कन्सोर्टियम नेपाली कम्पनी हो, म्याट्रिक्स इन्टरनेसनल,’ उनले भने, ‘बोर्डले आरएफपी जारी गर्नुअघि यी कम्पनीले परियोजनामा लगानी गर्नेबारे संयुक्त उपक्रम सम्झौता (जोइन्ट भेन्चर एग्रिमेन्ट) गरेर त्यसको पत्रसहित लगानी बोर्डमा पेस गर्नुपर्छ ।’ जोइन्ट भेन्चर एग्रिमेन्ट गरेको कागज बोर्डमा पेस गरे मात्र आरएफपी जारी गर्ने गरी बोर्डले उक्त कम्पनीलाई सर्ट्लिस्टमा राखेको थियो । ‘हामीले म्याट्रिक्सलाई उक्त सम्झौता–पत्र पेस गर्न लिखित जानकारी गराइसकेका छौँ,’ उनले भने, ‘म्याट्रिक्सले पनि तीनै देशका कम्पनीबीच उक्त सम्झौता गराउन पहल गरिरहेको छ ।’
पश्चिमसेती ७ सय ५० मेगावाट र सेती रिजन (एसआर)–६ ४ सय ५० मेगावाट गरी १२ सय मेगावाटको जलाशययुक्त जलविद्युत् आयोजनालाई लगानी बोर्डले एउटै प्याकेज आयोजनामा राखेर लगानी आह्वान गरेको थियो । यो आयोजनामा म्याट्रिक्स एउटा मात्रैको आवेदन परेको थियो । र, उक्त कम्पनी नै सर्ट लिस्टमा पर्न सफल भएको थियो । यो प्याकेज आयोजनाको अनुमानित लागत २ खर्ब ७४ अर्ब रुपैयाँ छ ।
पश्चिमसेतीलाई सम्भाव्य बनाउन प्याकेजमा ४५० मेगावाटको एसआर–६
४ सय ५० मेगावाटको जलाशययुक्त जलविद्युत् आयोजनाको निर्माणले पश्चिमसेतीलाई पनि सम्भाव्य बनाउने लगानी बोर्डको भनाइ छ । क्षमता घटाएर पनि पश्चिमसेती बनाउन थ्री गर्जेज तयार नभएपछि उक्त आयोजनालाई सम्भाव्य बनाउन एसआर–६ लाई पनि पश्चिमसेतीकै प्याकेजका रूपमा बोर्डले अघि बढाएको हो । पश्चिमसेतीभन्दा राम्रो प्रतिफल देखिएको र यसले पश्चिमसेतीलाई समेत लगानीयोग्य बनाउने भएकाले प्याकेजमा राखिएको बोर्डले जनाएको छ । डोटी र अछाम जिल्लाको सिमानामा पर्ने एसआर–६ सेती र बुढीगंगाको संगमस्थलभन्दा केही तल बनाउन प्रस्ताव गरिएको छ ।
सम्भाव्य नभएको भन्दै पश्चिम सेतीबाट बाहिरिएको थियो थ्री गर्जेज
आयोजना बनाउने समझदारी भएको साढे ६ वर्षपछि ०७५ भदौमा चाइना थ्री गर्जेज इन्टरनेसनल कर्पोरेसन (सिटिजिआई) ले आयोजनाबाट हात झिकेको थियो । आयोजनाबाट प्राप्त हुने मुनाफाको दर (आइआरआर) लाभदायक नदेखिएको भन्दै उसले आयोजनाबाट बाहिरिने निर्णय लिएको थियो । जलाशययुक्त आयोजनाले हिउँदका ५ महिना (डिसेम्बरदेखि अप्रिलसम्म) पनि जडित भन्दाको ३५ प्रतिशत उत्पादन गर्नुपर्ने व्यवस्था छ । उक्त मापदण्ड पूरा गरे मात्र हिउँदमा जलाशययुक्त आयोजनाको विद्युत् पिपिए दर १२ रुपैयाँ ४० पैसा पाउँछन् । तर, ७ सय ५० मेगावाट क्षमतामा आयोजना निर्माण गर्दा हिउँदमा मापदण्डअनुसार विद्युत् उत्पादन नहुने र विद्युत्को पिपिए दर घट्दा लाभ नहुने कम्पनीको भनाइ थियो ।
आयोजना विकासका लागि लगानी बोर्डसँगको वार्ताका क्रममा उसले आयोजनाको क्षमता ७ सय ५० मेगावाटबाट ५ सय ५० मा खुम्च्याउन प्रस्ताव गरेको थियो । त्यस्तै, डलरमा विद्युत् खरिद–बिक्री गर्ने अवधि १० वर्षभन्दा बढाउनुपर्ने, विद्युत् खरिद–बिक्री दर बढाउनुपर्ने सर्त राखेको थियो । बोर्ड कार्यालयले थ्री गर्जेजको सर्तमा लचक हुँदै ६ सय मेगावाटभन्दा नघटाउन, डलरमा गरिने पिपिएको अवधि १२ वर्षसम्म गर्न सकिने बताएको थियो । तर, त्यति गर्दा पनि आयोजनाको जग्गा अधिग्रहणमै कुल लगानीको १० प्रतिशतभन्दा बढी रकम लगानी हुने तथा पुनर्वास तथा पुनस्र्थापना थप जटिल रहेको थ्री गर्जेजको भनाइ थियो ।
दुई कम्पनीद्वारा आयोजना २२ वर्ष ‘होल्ड’
अस्ट्रेलियन कम्पनीले स्नोई माउन्टेन इन्जिनियरिङ कर्पोरेसन (स्मेक) ले सन् १९९७ देखि २०११ (१४ वर्ष)सम्म आयोजना बनाउने भन्दै ‘होल्ड’ गरेको थियो । स्मेकसँगको समझदारी तोडिएपछि सन् २०१२ मा थ्री गर्जेजले यो आयोजना विकास गर्ने समझदारी बनेको थियो । आयोजनामा १ खर्ब २० अर्ब (ब्याजसहित १ अर्ब ७६ अर्ब) रुपैयाँ लगानी हुने अनुमान थ्री गर्जेजले गरेको थियो ।
आयोजना लामो समयसम्म अघि बढेपछि सरकारको दबाबमा थ्री गर्जेजले नेपाल विद्युत् प्राधिकरणसँग १७ नोभेम्बर २०१७ मा संयुक्त लगानी सम्झौतासमेत गरेको थियो । त्यसपछि पनि आयोजना अघि नबढेपछि लगानी बोर्डको सञ्चालक समिति बैठकले दुई महिनाभित्र थ्री गर्जेजसँग छलफल गरी आयोजना विकासबारे ठोस निर्णयमा पुग्न बोर्ड कार्यालयलाई निर्देशन दिएको थियो । त्यसै क्रममा बोर्ड कार्यालयले क्रमिक रूपमा छलफल गरे पनि १३ भदौ ०७५ को छलफलपछि थ्री गर्जेज बाहिरिएको थियो ।
स्थानीय भन्छन्, कुर्दाकुर्दै वर्षौँ बित्यो
पश्चिमसेती जलविद्युत् आयोजनाको बाँध र धेरैजसो डुबान क्षेत्र डोटी जिल्लामा पर्छ । यो आयोजनाले डोटिसहित डडेल्धुरा, बैतडी र बझाङ जिल्ला प्रभावित हुन्छन् । यो आयोजना कुनै पनि हालतमा बन्नुपर्छ र यो आयोजना बने सुदूरपश्चिम प्रदेशकै आर्थिक समृद्धिमा टेवा पुग्छ भन्ने विश्वास स्थानीयमा छ । तर, आयोजना नबन्दा स्थानीयमा निराशा छाएको छ ।
‘पश्चिमसेती जलविद्युत् आयोजना बन्न लागेको हामीले सुनेको झन्डै ३ दशक हुन लाग्यो, तर अझै बनेको छैन,’ पश्चिमसेती सरोकार समाजका सचिव डोटीको शिखर नगरपालिकाका आयोजना प्रभावित डम्बर सिंहले भने, ‘यो आयोजना बने यो क्षेत्रको आर्थिक समृद्धि हुन्छ भनेर खुब उत्साहित भइयो, कहिले अस्ट्रेलियन, कहिले चिनियाँ कम्पनी आए, अब त आशा नै मर्न लागिसक्यो ।’
उक्त आयोजना जसरी पनि बन्नुपर्छ भनेर उक्त क्षेत्रका स्थानीयले केन्द्रदेखि प्रदेशसम्म सरकारका मन्त्री तथा नेताहरूसँग आग्रह गरे पनि आयोजना अघि नबढेको उनले बताए । ‘सुदूरपश्चिमबाट पनि देशका प्रधानमन्त्री भए,’ उनले भने, ‘तर, यो आयोजना बन्न सकेन ।’ कचौरामा पश्चिमसेतीको पानी लगेर काठमाडौंमा आयोजना बन्नुपर्छ भनेर स्थानीयले प्रदर्शन पनि गरे पनि आयोजना बन्ने सुनिश्चित हुन नसकेको उनले बताए । नयाँ पत्रिकाबाट




















प्रतिक्रिया