काठमाडौं विश्वविद्यालयको सम्बन्धनमा सञ्चालित नेपालगन्ज मेडिकल कलेजले अतिरिक्त शुल्क माग गरी भर्ना रोकेपछि विद्यार्थीहरूले जिल्ला प्रशासन कार्यालय बाँकेमा उजुरी दिएका छन् ।
सरकारले निर्धारण गरेभन्दा इन्टर्नसिपका लागि दुई लाख र सेक्युरिटी डिपोजिटका लागि एक लाख गरी थप तीन लाख गैरकानुनी रूपमा माग गरेपछि प्रशासन गुहार्न पुगेका हुन् । उनीहरूले निर्धारित शुल्कमै भर्ना हुन पाउनुपर्ने माग गर्दै उजुरी दिएका हुन् ।
चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र ०७६, ०७७ का लागि एमबिबिएसमा उपत्यकामा ४० लाख २३ हजार दुई सय ५० र उपत्यकाबाहिर ४४ लाख ३६ हजार २५ रुपैयाँ निर्धारण गरेको छ । इन्टर्नसिपलगायतका शुल्क शिक्षण शुल्कभित्रै पर्ने आयोगले स्पष्ट पारेको हो । चिकित्सा शिक्षा आयोगका सदस्यसचिव तथा प्रवक्ता डा। हरिप्रसाद लम्सालले इन्टर्नसिपका नाममा तोकिएको शुल्कभन्दा छुट्टै लिन नपाउने बताएका छन् ।
शिक्षण शुल्कभित्रै समेटिने इन्टर्नसिप, विश्वविद्यालयको रजिस्ट्रेसन, परीक्षालगायतका शीर्षकमा अतिरिक्त शुल्क माग गरेका हुन् । नेपालगन्जका साथै नेपाल मेडिकल र काठमाडौं मेडिकल कलेजले अतिरिक्त शुल्क माग गरेको विद्यार्थीले गुनासो गरेका छन् ।
चिकित्सा शिक्षा संघर्ष समितिको चेतावनी
चिकित्सा शिक्षा संघर्ष समितिले विभिन्न माग राखी आन्दोलनमा उत्रने चेतावनी दिएको छ । विगतमा भएका सम्झौता मेडिकल कलेजले कार्यान्वयन नगरेको र यसै शैक्षिक सत्रमा भर्ना हुने विद्यार्थीबाट समेत अतिरिक्त शुल्क माग गरेकाले अनुसन्धान गरी कारबाही गर्न माग गर्दै आन्दोलनमा उत्रने चेतावनी दिएका हुन् । संघर्ष समितिका संयोजक डा। मिलन गैरे, प्रवक्ता सुजन कडेरिया र महासचिव अनित सिन्हाले विज्ञप्ति जारी गरी यस्तो चेतावनी दिएका छन् । नयाँ पत्रिकाबाट





















प्रतिक्रिया