Logo

स्वास्थ्य

भारतमा बन्दै गरेको खोपको मुल्य ७ अमेरिकी डलर पर्ने, नेपालको ४२ अर्ब खर्च हुने अनुमान



काठमाडौं । पछिल्लो समयमा विभिन्न बिकसित मुलुकहरुले कोरोना बिरुद्धको खोप परिक्षणलाई तीब्रता दिएसँगै सफलता समेत पाई रहेका समाचारहरु सार्वजनिक भईरहेका छन् । यस्तैमा भारतमा पनि भारतीय खोप सिरम इन्स्टिच्युट अफ इन्डिया (एसआईआई) ले बेलायतको अक्सफोर्ड विश्वविद्यालय र ब्रिटिस औषधि निर्माता कम्पनी एस्ट्राजेनेकासँगको सहकार्यमा खोप उत्पादन गरिरहेको छ । 
भारतमा उत्साहजनक रुपमा खोप उत्पादन हुन थालेपछि नेपाल सरकारले उक्त खोप उत्तम हुन सक्ने भन्दै नेपालमा ल्याउँनको लागि छलफल अघि बढाएको छ । त्यसैगरी खोप उत्पादन कम्पनी सिरमले पनि कोरोना भाइरसविरुद्ध आपत्कालीन प्रयोगका लागि सरकारसँग अनुमति माग गरिसकेको छ ।

भारतले उत्पादन गरेको खोप नेपालमा ल्याउँने सम्भावना बढेपछि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिका संयोजक समेत रहेका उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोना खोपसँग सम्बन्धित विषयमा छलफल गर्न शुक्रबार गृह, अर्थ, परराष्ट्र, सामान्य प्रशासन, स्वास्थ्य र पर्यटन मन्त्रालयका मन्त्री, मुख्यसचिव र सचिवहरूसँग छलफल गरेको श्रोतले बताएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा उक्त छलफलमा स्वास्थ्य मन्त्रालयका पदाधिकारीले भारतमा उत्पादन हुने खोप ल्याउन सहज, सस्तो र भण्डारण गर्नसमेत सजिलो हुने जानकारी गराएको बुझिएको छ । ९० प्रतिशतसम्म प्रभावकारिता भएको कोभिसिल्ड नाम दिइएको खोप २ देखि ८ डिग्री सेल्सियससम्मको तापक्रममा भण्डारण र ओसारपसार गर्न सकिने कम्पनीले दाबी गरेको छ । बेलायतले आकस्मिक प्रयोग गर्न अनुमति दिएको फाइजरको खोप भण्डारणका लागि माइनस ७० डिग्री सेल्सियससम्मको तापक्रम चाहिने बताइएको छ ।

‘स्वास्थ्य मन्त्रालयले भारतमा बनेको खोप नेपालमा ७ अमेरिकी डलरमा उपलब्ध हुन सक्ने बैठकमा जानकारी गराएको छ । सरकारले १० डलरका दरले ५२ प्रतिशत नागरिकलाई खोप किन्नुपर्ने भन्दै ४२ अर्ब बजेट आवश्यक पर्ने अनुमान गरेको छ । कोरोना बिरुद्धको यो खोप कहिलेसम्ममा पूर्ण परिक्षण सफल हुन्छ र नेपाल आई पुग्छ भन्ने बारेमा भने केही बताईएको छैन ।  

प्रकाशित मिति : २७ मंसिर २०७७, शनिबार ११:५८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।