कोरोना संक्रमितको संख्या बढाएर गल्ती गरेको स्वास्थ्य मन्त्रालयले त्यो भन्दा पनि गम्भिर खालका गल्ती पटक पटक दोहोर्याइरहेको छ । स्वास्थ्य मन्त्रालयको गल्तीका कारण कोरोनाका संक्रमित खोज्न समेत समस्या भएको छ ।
स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमित काठमाडौमा हुने तर संक्रमितको ठेगाना उनीहरुको स्थायी ठेगाना उल्लेख गर्दा संक्रमित खोज्न समेत समस्या पर्ने गरेको छ । स्वास्थ्य मन्त्रालयले काठमाडौमा भएका र काठमाडौंमा नै स्वाब परिक्षण गराएका तीन जना संक्रमितको ठेगाना उनीहरुको स्थायी ठेगाना उल्लेख गरेपछि संक्रमितलाई उनीहरुको स्थायी ठेगानामा खोजिएको थियो ।
शनिबार बिहान १० बजे मन्त्रालयले प्रेस विज्ञप्ति मार्फत सर्लाही रामनगर ४ निवासी १८ वर्षीया महिलामा कोरोनाको संक्रमण पुष्टी भएको विवरण सार्वजानिक गर्यो । सर्लाहीमा संक्रमितको खोजी गर्न थालियो । तर उनी सर्लाही नभएर काठमाडौंमा थिइन् । उनले स्वाब पनि टेकुमा परिक्षण गराएकी थिइन् । तर स्वास्थ्य मन्त्रालयले सर्लाही ठेगाना उल्लेख गरेपछि उनको खोजी गर्न एकदिन लाग्यो । उनी कपनको तेन्जीङ चोकमा बस्ने गरेको आइतबार अबेरतिर बुढानिलकण्ठ नगरपालिकाका प्रतिनिधीहरुले पत्ता लगाए ।
त्यसैगरि शनिवार नै बर्दिया नार्खु ११ का २८ वर्षका व्यक्तीलाई पनि कोरोनाको संक्रमण पुष्टी भयो । तर उनी पनि काठमाडौंमै बस्ने र स्वाब पनि काठमाडौंमै परीक्षण गरिएको थियो । उनलाई कोरोनाको पुष्टी भएपछि बर्दिया लालपुर शनिबार दिउसोदेखि बन्द गरियो तर तर उनी काठमाडौंको कालीमाटीमा राँगाको मासु व्यापार गर्दै आएको तथ्य आइतवार मात्रै फेला पर्यो ।
यसअघि दाङ तुलसीपुर भनिएका एक कोरोना संक्रमित पनि काठमाडौंमै रहेको पाइएको थियो । उनको स्थायी ठेगाना र उमेर समेत गलत पर्दा दाङको तुलसीपुर ७ र शिक्षण अस्पतालमा त्रास फैलिएको थियो ।
स्वास्थ्य मन्त्रालयले स्थायी ठेगानाका कारण केही समस्या उत्पन्न भएको स्वीकार्छन । स्वाब संकलन गर्ने क्रममा ठेगाना सोध्दा उनीहरुले स्थायी ठेगाना बताउने र फिल्डमा रहेका कर्मचारीले त्यही टिपेर मन्त्रालयको सिस्टममा पठाएका कारण समस्या भएको मन्त्रालयले जनाएको छ ।




















प्रतिक्रिया