प्रदेश १ को प्रदेशसभामा विनियोजन विधेयकमाथिको छलफल सकिएको छ । आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले बिहीबार विधेयकमाथि उठेका प्रश्नको जवाफ दिएसँगै यसमाथिको सैद्धान्तिक छलफल सकिएको हो ।
मन्त्रालयगत रुपमा विनियोजन गरिएको बजेटमाथि भएको छलफलसँगै सम्बन्धित मन्त्रालयका मन्त्रीले समेत जवाफ दिएका थिए । आर्थिक मामिला मन्त्री आङ्बोले आफ्नो मन्त्रालय र विधेयकमाथि नै सत्तापक्ष र प्रतिपक्षी सांसदले उठाएको जिज्ञासाको जवाफ दिएका छन । विधेयकमाथि छलपल पूरा भएपछि सभामुख प्रदिपकुमार भण्डारीले खर्च कटौतीको प्रस्ताव राख्न शुक्रबार १२ बजेसम्मको समय दिएका छन । संसद बैठक शुक्रबार १ बजे पुनः बस्नेछ ।
विधेयकमाथि उठेका प्रश्नको जवाफ दिँदै मन्त्री आङ्बोले प्रमुख प्रतिपक्षी कांग्रेसलाई मुख्यमन्त्रीको नामबाट ल्याइएका परियोजनाको विषयमा बढी ‘आतंकित नबन्न’ र सदनमा अहिले ‘दायाँपट्टी बस्दै गरेकोमा बायाँतर्फ आउने’ साहस देखाउन आग्रह गरे । उनले भने,‘‘झुक्किएर दायाँतर्फ आइहाल्नु भयो भने पनि मुख्यमन्त्रीसँग जोडिएका कार्यक्रम व्यक्तिगत होइन संस्थागत हो भन्ने बुझ्नुहोला ।’’
प्रतिपक्षीले विनियोजन विधेयकमाथि उठाएका प्रश्नको जवाफ सरल र सहज ढंगले दिइरहेका मन्त्री आङ्बो अन्तिममा भने एक्कासी आक्रामक देखिएका थिए । सदनमा दायाँपट्टीको भागमा सत्तासीन र बायाँपट्टि प्रतिपक्षी दलका सांसद बस्ने चलन छ । मन्त्रीले ‘आवधिक निर्वाचनबाट विजयी भएर आउनुहोस’ भन्दै प्रतिपक्षीलाई चुनौती दिएका थिए । उनले भने,‘‘आवधिक निर्वाचनको मान्छौं त्यसको परिणाम पनि मान्छौं ।’’
आङ्बोले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रममार्फत प्रत्यक्ष र निर्वाचित सांसदलाई भेद नगरिएको बरु त्यो कार्यक्रम क्षेत्रको विकासको लागि नै ल्याइएको दाबी गरे । उनले सबैलाई मान्य हुने कार्यविधि बनाएर त्यो कार्यक्रम कार्यान्वयनमा लगिने बताए । उनले भने,‘‘सबै ५६ वटै निर्वाचन क्षेत्रको विकास गर्न २ करोड ५० लाखका दरले बजेट दिइएको हो ।’’
उनले साना अंकमा तोकेर राखिएका योजनाको सम्बन्धमा त्यसलाई आयोजना बैंकको रुपमा बुझ्न आग्रह गरे । चारसय भन्दा धेरै योजना एक हजार रुपैयाँ बजेटका दरले रातो किताबमार्फत ल्याएको भन्दै प्रतिपक्षी र सत्तापक्षकै सांसदले त्यसको चर्को आलोचना गरेका थिए ।
बजेट अर्थराजनीति भएको बताउँदै मन्त्री आङ्बोले बजेट बनाउँदा कर्मचारी तन्त्र हावि भएको भन्ने आरोपको खण्डन गरे । उनले राजनीतिक व्यक्तिले कर्मचारीको अस्त्र प्रयोग गरेको भन्ने बुझ्न आग्रह गर्दै भने,‘‘छुटेका कतिपय क्रमागत योजनाबारे सरकार गम्भीर बन्ने छ र नयाँको पूर्वसम्भाव्यता अध्ययन गरेर अघि बढ्छ ।’’
उनले रातो किताबबारे भएको आलोचनाबारे कार्यक्रम र परियोजनातर्फको किताबको रंग खैरो वा हरियो नै हुने चलन रहेको जिकिर गरे । आफ्नो मन्त्रालयले भैपरी आउने शीर्षकमा एक अर्ब मात्रै राखेको बताए । नयाँ कर्मचारी, कार्यालय र नयाँ दायित्व र्सिजना हुने भएकोले यसो गरिएको तर रकम अभाव हुँदा सम्बन्धित क्षेत्रलाई दिए पनि रकमान्तर भने नगरिने स्पष्ट गरे । उनले भने,‘‘अघिल्लो वर्ष ३ अर्ब थियो । संघबाट समपुरक र विशेष अनुदानको अपेक्षा थियो एक अर्ब हाराहारीमात्र आयो ।’’
मन्त्री आङ्बोले सिंचाई र खानेपानीतर्फ भने धेरै नै टुक्रे योजनाहरु आएको स्वीकार गरे । परियोजना छनोटमा विधि प्रक्रिया पुर्याएको तर सांसदहरुलाई विभेद् नगरेको उनको दाबी थियो । सदनमा विशेष समय लिएर सामाजिक विकास मन्त्री जीवन घिमिरेले आफ्नो मन्त्रालयले १ हजार २ सय बेरोजगार युवायुवतीलाई रोजगारी दिन रोजगार मेला आयोजना गर्न लागेको जानकारी गराए ।
उनले भने,‘‘प्रदेश राजधानी विराटनगरमा आयोजना हुने मेलामै सरकारले बेरोजागर युवायुवतीलाई रोजगारदातासंग भेट गराई जागिर दिलाइदिने काम गर्दैछ ।’’ उनले रोजगारदाताका विभिन्न क्षेत्रमा पुगी मन्त्रालयको टोलीले ‘भ्याकेन्सी’बारे बुझेको बताए । बिहीबार सदनको शून्य समयमा सांसदहरु कूलप्रसाद साम्बा, केदार कार्की, प्रतापप्रकाश हाङ्गाम र मोहम्मद ताहिर मियाँले समसामयिक विषयमा बोलेका थिए ।




















प्रतिक्रिया