Logo

राजनीति

चीन भ्रमणको उपलब्धिबारे लामिछानेलाई ब्रिफिङ, सहकार्यका विषयमा छलफल



काठमाडौं । चीनको १२ दिने भ्रमण पूरा गरी फर्किएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रतिनिधिमण्डलले भ्रमणका क्रममा भएका राजनीतिक भेटघाट, आर्थिक क्षेत्रको अवलोकन तथा नेपाल–चीन सहकार्यका सम्भावनाबारे पार्टी नेतृत्वलाई जानकारी गराएको छ।

पार्टी महामन्त्री एवं भ्रमण टोलीका संयोजक विपिनकुमार आचार्यले आज सभापति रवि लामिछानेलाई भेटेर भ्रमणका उपलब्धि र अनुभवबारे ब्रिफिङ गरेका हुन्।

आचार्यको नेतृत्वमा २० सदस्यीय टोली नोभेम्बर १५ देखि चीनको सिचुवान, चच्याङ र बेइजिङ भ्रमणमा गएको थियो। उक्त टोली नोभेम्बर २६ मा स्वदेश फर्किएको हो।

भ्रमणका क्रममा चिनियाँ कम्युनिष्ट पार्टीका नेता ली शुलेईसँग भएको उच्चस्तरीय भेटवार्ता महत्त्वपूर्ण रहेको आचार्यले बताएका थिए। भेटमा दुई पार्टीबीचको सम्बन्ध सुदृढ बनाउने, राजनीतिक विश्वास बढाउने तथा नीतिगत र सांगठनिक अनुभव आदानप्रदान गर्ने विषयमा छलफल भएको थियो। साथै सुशासन र विकासका क्षेत्रमा सहकार्य गर्ने सम्भावनाबारे पनि कुराकानी भएको थियो।

यसैगरी, चिनियाँ कम्युनिष्ट पार्टीका केन्द्रीय नेतृत्वदेखि स्थानीय काउन्टी तहका नेताहरूसँग भएका छलफल र अन्तरक्रियाबारे पनि आचार्यले लामिछानेलाई जानकारी गराएका थिए।

टोलीले राजनीतिक भेटघाटबाहेक चीनका विभिन्न उद्योग तथा व्यावसायिक क्षेत्रको अवलोकन गरेको थियो। साथै विपद् पूर्वतयारी, विपद्का बेला अपनाइने रणनीति र विपद्पछिको व्यवस्थापन प्रणालीबारे पनि अध्ययन गरेको थियो।

भ्रमणका क्रममा नेपाल र चीनबीच विभिन्न क्षेत्रमा सहकार्य विस्तार गर्न सकिने सम्भावनाबारे छलफल भएको आचार्यले जानकारी दिएका थिए।

ब्रिफिङपछि सभापति लामिछानेले भ्रमणबाट प्राप्त ज्ञान, अनुभव र सिकाइलाई पार्टीको आन्तरिक कार्यप्रणालीमा उपयोग गर्दै मुलुकको विकाससँग जोड्नुपर्ने बताएका छन्। उनले भ्रमणका क्रममा भएका छलफल र स्थापित सम्बन्धलाई व्यावहारिक नतिजामा रूपान्तरण गर्न आवश्यक पहल गर्न प्रतिनिधिमण्डललाई निर्देशनसमेत दिएका छन्।

प्रकाशित मिति : ११ मंसिर २०८३, शुक्रबार १३:२६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।