Logo

समाचार

लकडाउनबारे निर्णय गर्न उच्चस्तरीय समितिको बैठक बस्दै, रक्षामन्त्री पोखरेल लकडाउन बढाउने पक्षमा



विश्वव्यापी स्वास्थ महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) नियन्त्रण तथा रोकथामका लागि सरकारले तोकेको लकडाउनको अवधी वैशाख १५ गते सकिदैंछ । यसपछि लकडाउनलाई कसरी अगाडि बढाउने भन्नेबारे छलफल गर्न उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोरोना भाइरस उच्चस्तरीय रोकथाम तथा नियन्त्रण समितिको बैठक बिहान ११ बजे बोलाइएको छ ।

स्वास्थ मन्त्रालय सहित अन्य विभागीय मन्त्रालयले लकडाउनको विकल्प खोज्नुपर्ने राय सहित विकल्प तयार गरिरहँदा उच्चस्तरीय समितिका संयोजक एंव रक्षामन्त्री पोखरेल भने अहिलेकै लकडाउनको शैलीलाई कायम राख्दै कडाइका साथ पालना गराउनुपर्ने पक्षमा उभिएका छन् भने अर्थ सहितका मन्त्रीहरू लकडाउनको मोडालिटी परिवर्तन गर्दै संक्रमण जोखिम नरहेका इलाका क्रमशः खोल्दै जाने पक्षमा देखिएका छन् ।

यसअघि शुक्रबारको मन्त्रीपरिषद बैठकमा लकडाउन बारे सामन्य छलफल भएपनि अध्यादेश खारेजीमा केन्द्रित रहेकाले यसको बारेमा आवश्यक निर्णय गर्ने अधिकार प्रधानमन्त्री केपी शर्मा ओलीले रक्षामन्त्री पोखरेल नेतृत्वको उच्चस्तरीय समितिलाई जिम्मा लगाएको जनाइएको छ ।

कोरोना भाइरस संक्रमितको संख्या ४९ पुगिसकेको र देशका विभिन्न क्षेत्रमा संक्रमितहरू देखिनुका साथै छिमेकी देश भारतमा समेत कोरोना संक्रमित लगातार बढिरहेको भन्दै समिति संयोजक पोखरेलले लकडाउन जुनसुकै मूल्यमा पनि थप्ने तयारी गरेको समितिका एक सदस्यलाई उदृत गर्दै विश्वस्त स्रोतले जानकारी दिएको छ ।

प्रकाशित मिति : १३ बैशाख २०७७, शनिबार ०६:२७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।