विश्वव्यापी स्वास्थ महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमण नियन्त्रणका लागि चैत महिनाको मध्यदेखि सुरु भएको लकडाउन वैशाख २५ पछि केही खुकुलो हुने स्वास्थ तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले संकेत गरेका छन् ।
शुक्रबार राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिको बैठकमा मन्त्री ढकालले दैनिक जिवनयापन सहज हुनेगरी लकडाउन खुकुलो हुने संकेत गरेका हुन् । सबै क्षेत्रबाट संक्रमणको जोखिमलाई मध्यनजर गर्दै लकडाउन खुकुलो गर्ने सुझाव आइरहेकोले सरकारले यो विषयमा गृहकार्य गरिरहेको उनले जानकारी दिए ।
कृषि, उद्योगधन्दा तथा अरु महत्वपूर्ण कुराहरुलाई मध्यनजर गर्दै लक डाउनको स्वरुप परिवर्तन हुन सक्ने उनले बताए । कारोनाका कारण दिर्घरोगी र अन्य विरामीहरु अस्पतालबाट पाउने सेवाबाट बञ्चित भएको अवस्थालाई मध्यनजर गर्दै विरामीहरुलाई अस्पतालसम्म लक डाउनको स्वरुप परिवर्तन हुन सक्ने उनले बताए ।
‘बन्दाबन्दी विगतको भन्दा नयाँ ढंगले जानुपर्छ । अब सहजिकरण गर्दै जानुपर्छ । कृषि, उद्योगधन्दाहरु अरु विभिन्न खालका विषयमा अतिरिक्त महत्वपूर्ण कुराहरुका विषयमा विचार पुर्याउनुपर्छ । कोरोना कोरोना भनेकै कारण दिर्घरोगी अस्पतालको सेवाबाट बञ्चित हुने, लक डाउनका कारण घरमा विरामी भएन भने अस्पतालसम्म पुर्याउन नसकिने अवस्थालाई मध्यनजर गर्दै एम्बुलेन्सलाई एकिकृत बनाएर कसरी सेवा दिन सकिन्छ भन्ने विषयमा गृहकार्य भइरहेको छ ।’
मन्त्री ढकालले विभिन्न क्षेत्रबाट गाउँ फर्किएका नागरिकहरुको र्यापिड डाइग्नोष्टिक परीक्षण जारी रहेको पनि बताए । सर्वोच्च अदालतले बाटोमा रहेका र सीमा नाकामा रहेका नागरिकहरुलाई उनीहरुको घरसम्म पुर्याउन आदेश जारी गरेपछि सरकारले घर पुर्याउने नीति अवलम्बन गरेको उनले बताए ।
बाटोमा अलपत्र रहेका नागरिकहरुलाई सुरक्षित घर पुर्याइएको र आरडिटी परीक्षण जारी रहेको उनले बताए। मन्त्री ढकालले विश्व महामारीको अवस्थामा सरकार र जनताको तर्फबाट भएका प्रयत्नहरुले नेपाल उच्च जोखिममा नहरहेको विश्व स्वास्थ्य संगठनले नै भनिसकेको बताए ।




















प्रतिक्रिया