विश्वव्यापी स्वास्थ महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमण नियन्त्रण गर्नको लागि लगाइएको लकडाउनको विकल्प खोज्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आग्रह गरेको छ ।
कांग्रेसको छाया अर्थमन्त्रालयको संयोजनमा भएको कोरोना महामारी पछिको निति, कार्यक्रम र बजेटको सम्बन्धमा उद्योग वाणिज्यलगायत सम्बन्धित क्षेत्रका छाता संस्थाहरूसँगको अन्तरक्रिया कार्यक्रममा पार्टी सभापति शेर बहादुर देउवाले लकडाउनको विकल्प खोज्न आग्रह गरेका हुन् ।
‘कोरोनाको डर त्रास, छ । यसबाट बच्ने उपायसँगै देश पनि चल्नुपर्छ, उद्योगधन्दा पनि खुल्नुपर्छ ।’ सभापति देउवाले भने ‘तपाईहरूको सुझाव अनुसार हामी संसदमा पनि कुरा उठाउछौं ।’
लकडाउनसँगै उद्योग, पर्यटन, होटेल क्षेत्र प्रभावित भएको, विदेशमा नेपालीले रोजगारी गुमाउँदा रेमिट्यान्स कम हुने, भौतिक पूर्वाधारको काम ठप्प हुँदा रोजगारी गुम्ने, उद्योग बन्द हुँदा श्रमिकको दैनिकी कठोर हुने भन्दै देउवाले अब विकल्पमा जानुपर्ने बताएका हुन् । कोरोनाले धेरैतिर समस्या ल्याएको भन्दै प्रधानमन्त्रीलाई भेटेरै उद्योगी–व्यापारीहरूले उठाएका मुद्दा कार्यान्वयन गराउने वचन पनि देउवाले दिएका छन् । ‘सबैले समस्या भोग्नुपरेपछि अब प्रधानमन्त्रीसँगै कुरा गरेर समस्या राख्ने मात्रै होइन प्रतिपक्षी दलका रूपमा कार्यान्वयन गराउन लाग्छु,’ देउवाले भने ।
कोरोना संक्रमण रोक्न लकडाउन गर्नु उचित भए पनि निरन्तर उद्योगधन्दा बन्द गर्दा सबै क्षेत्र प्रभावित भएको उनको भनाइ थियो । विदेशमा नेपाली नागरिक अलपत्र रहेको भन्दै देउवाले उनीहरूको उद्धार गर्नेबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको पनि बताए ।
कार्यक्रममा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नीतिगत सुधार गरेर रोजगारी दिने, अर्थतन्त्रलाई टिकाउने दिशामा जान आवश्यक रहेको बताए । ‘अक्सफामले विश्वका धेरै देश गरिबीको रेखामुनि जान सक्छन् भनेको छ । विश्व बैंक र आइएमएफले विश्वको जिडिपी धेरै संकुचनमा जान्छ भनेको छ,’ उनले भने, ‘लकडाउनमा आर्थिक गतिविधि ठप्प छ । तैपनि लकडाउनको विकल्प छैन । यसकारण स्वास्थ्यमा महत्वपूर्ण बजेट विनियोजन हुनुपर्छ ।’ खर्च धान्ने गरी बजेट ल्याउनुपर्ने उनको भनाइ थियो ।
कार्यक्रमको संयोजन गरेका छाया सरकारमा अर्थ मन्त्रालयका संयोजक डा. मीनेन्द्र रिजालले उद्योगधन्दालाई नियमित गरेर जान व्यवसायीहरूबाट ब्याजदरमा सहुलियत, प्रभावकारी नीति, छरितो र नछरिएको बजेट ल्याउनुपर्ने गरी आएका सुझाब राम्रा रहेको बताए । कोरोनाको कहरपछि अर्थतन्त्र प्रभावित भएकोले कांग्रेसले प्रतिपक्षी दलका रूपमा सरकारलाई सुझाब दिन छलफल आयोजना गरेको उनले जानकारी दिए । यस्ता छलफल निरन्तर गर्दै जाने उनको भनाइ थियो । कार्यक्रमको फेसबुक लाइभ पनि गरिएको थियो ।




















प्रतिक्रिया