विश्वव्यापी स्वास्थ महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) नियन्त्रण तथा रोकथामको लागि लगाइएको लकडाउनको स्वरुप आगामी जेठ २० गतेबाट स्वरुप परिवर्तन गर्ने तयारी थालेको छ ।
लगातारको लकडाउनका कारण जनजीवन कष्टकर बन्दै गएपछि सरकारले लकडाउनको मोडालिटीमा परिवर्तनको गृहकार्य थालेको छ । कोरोना संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिका प्रवक्ता नारायण प्रसाद बिडारीले पनि आगामी जेठ २० पछि लकडाउनको स्वरुप फेरिने जानकारी दिएका छन् ।
दुई महिनाको अवधिको कोरोना विरुद्धको लडाइँमा लकडाउन समयसापेक्ष कदम भएको भएपनि अब यही स्तरको लकडाउन कायम गर्न सकिने सम्भावना भने नरहेको प्रवक्ता बिडारीको भनाइ छ । कोरोनाका अहिलेसम्म ६०० भन्दा कम संक्रमित हुनु र तीन जनाको मात्रै निधन हुनु अरू देशको तुलनामा निकै कम रहको प्रवक्ता बिडारीको ठहर छ ।
‘कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका अन्य प्रभावकारी कदमलाई निरन्तरता दिंदै आगामी जेठ २० पछि लकडाउनको मोडालिटीमा उल्लेख्य परिवर्तनको तयारी गरेका छौं ।’ प्रवक्ता बिडारीले भने । त्यो उल्लेख्य परिवर्तन कुन स्वरुपको हो भन्ने भने उनले खुलाएनन् ।
अहिले लकडाउनका केही विकल्पमा चर्चा भैरहेको उल्लेख गर्दै ती विकल्प के-के हुन् भन्ने चाँही केही दिनमै प्रष्ट हुने बताए । लगातारको लकडाउनका कारण जनतामा निराशा बढ्न सक्ने र जनजीवन कष्टकर बनेको भन्दै सरकारले मोडालिटीमा परिवर्तनमा तयारी गरेको हो ।




















प्रतिक्रिया