Logo

प्रमुख समाचार

असार १ बाट लकडाउन खुकुलो हुने, पूर्ण लकडाउन हट्न भने दशैं कुर्नुपर्ने



सरकारले असार १ गतेदेखि क्रमश लकडाउन खुकुलो बनाउँदै लकडाउन बाट लुजडाउन तर्फ जाने तयारी गरेको छ । यसका लागि मिति तोकेरै छ चरणमा लकडाउन बाट लुजडाउन तर्फ जाने तयारी भएको हो ।

कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी) ले तयार पारेको प्रस्ताव मन्त्रीपरिषदबाट पारित गरी अगाडि बढाउने सरकारको तयारी छ । असार १ गतेदेखि लागु हुने उक्त कार्ययोजना अनुसार लकडाउन पूर्णरूपमा खोल्न भने आगामी दशैंसम्म लाग्ने सिसिएमसीको अनुमान छ ।

लकडाउनले नागरिकको दैनिकि नै प्रभावित भएको तथा लकडाउनको सामूहिक उल्लंघनका घटना बढेपछि सरकारले सरोकारवाला र विज्ञहरुसँगको छलफलको सुझावको आधारमा यस्तो तयारी गरेको जनाइएको छ ।

यस्तो छ लकडाउन खोल्ने छ चरण

पहिलो चरण: पहिलोचरणमा अत्यावश्यक सेवा प्रदायक संस्था खोल्ने अनुमति दिइनेछ । त्यसमा अत्यावश्यक वस्तु उत्पादन र बिक्रीवितरण गर्ने उद्योग व्यवसायहरु पर्नेछन् । लकडाउनको यो चरण असार पहिलो सातासम्म कायम रहनेछ ।

दोस्रो चरण: असार दोस्रो हप्ताबाट पहिलो चरणको अनुभव हेरेर आर्थिक गतिविधिलाई जोड दिइनेछ । यो सँगै निर्माणको क्षेत्रलाई खुल्ला गरिनेछ भने सबै किसिमका सामान बिक्रीवितरण गर्ने पसलहरुलाई निश्चित नियम तथा सुरक्षाको उपाय अपनाएर खोल्न दिइनेछ ।

तेस्रो चरण: असार १५ पछिको यो अवधिमा कृषिलगायत दैनिक उपभोग्य सामाग्रीको बिक्रीवितरण सहज बनाइनुका साथै निजि सवारी साधन निश्चित मापदण्ड तोकेर सञ्चालनको अनुमति दिइने छ । शुरुमा जोर बिजोर प्रणाली लागु गर्ने सरकारको योजना छ । बैंक तथा वित्तीय संस्था पूर्णरूपमा सञ्चालन हुनेछन् । कपाल काट्ने सैलुन, ब्युटीपार्लर तथा खेलकुद सम्बन्धि संस्था खोल्न मिल्ने छ ।

चौथो चरण: असारको तेस्रो साताबाट धार्मिक स्थलहरु खुल्ला हुनेछन् । निश्चित नियमको पालना गर्दै धार्मिक, सांस्कृतिक जमघट हुने कार्य तथा स्थलहरु पनि सञ्चालन गर्न पाइनेछ ।

पाँचौ चरण: साउन १ गतेदेखि विद्यालय, विश्वविद्यालय, मनोरञ्जन र निर्माण सम्बन्धि सेवाहरु सञ्चालनको अनुमति प्रदान गर्ने सरकारको रणनीति छ । पूर्वाधार निर्माणका काम अगाडि बढ्नेछन भने पार्क, स्वीमिङ पुल, खेल मैदान, सिनेमा हल यही चरणबाट खुल्ला गर्ने तयारी छ ।

छैटौं चरण: यो चरण लकडाउन नहुँदाको चैत १२ भन्दा अगाडिको जस्तै खुल्ला हुनेछ । तर त्यसका लागि निश्चित नियमको पालना भने गर्नुपर्ने हुन्छ । कोरोना संक्रमणको सम्भावित जोखिमलाई मध्यनजर गर्दै संक्रमण फैलिएका तथा संक्रमण फैलिने सम्भावित क्षेत्रलाई पूर्णरूपमा शिल्ड गर्ने गरी प्रस्ताव तयार गरेको छ ।

प्रकाशित मिति : २३ जेष्ठ २०७७, शुक्रबार १०:१५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।