Logo

प्रमुख समाचार

लकडाउनको अवज्ञा गर्दै नागरिक सडकमा, सरकार मुकदर्शक



विश्वव्यापी स्वास्थ महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) नियन्त्रण तथा रोकथामको लागि भन्दै सरकारले घोषणा गरेको लकडाउनको ७७ औं दिन पुग्दा नागरिक स्तरबाट लकडाउको व्यापक अवज्ञा भएको छ ।

राजधानीका भित्री सडक र गल्लिहरुमा मात्रै नभएर मुख्य सडकमा मोटरसाइकल र निजि सवारीको चाप ह्वात्तै बढेको छ । सवारीको नियमन गर्न सडकमा ड्युटीमा खटिएका प्रहरीहरु पनि नागरिकको यो व्यबहारबाट आजित भएर थाकेका जस्ता देखिएका छन् ।

गत वर्षको चैत ११ गतेदेखि सुरु भएको लकडाउन खुकुलो बनाउन सरकारलाई चौतर्फी दबाब भएपनि नेपाली सेनाको लकडाउन खुकुलो बनाउन नहुने अडानका कारण दर्जनौं प्रस्ताव र मोडालिटी अलपत्र परेका छन् ।

सोमबार काठमाडौ उपत्यकाका सडकमा सवारीको चाप हेर्दा अब सरकारका हातबाट लकडाउनको अस्त्र खुस्किन लागेको होकी भन्ने भान हुन थालेको छ । प्रहरीले पनि सवारी जाँचलाई खुकुलो बनाएको छ ।

न्युरोड, भोटेबहाल, इन्द्रचोक सहित उपत्यकाका सम्पूर्ण पसलहरु बिहानैदेखि खुल्न थालेका छन् । सरकारले लकडाउनको विकल्प दिन नसकेको भन्दै राष्ट्रिय व्यवसायी महासंघले नै औपचारिक रूपमा लकडाउन उल्लंघन गर्दै पसल सञ्चालन गर्न आग्रह गरेपछि उपत्यकामा लकडाउन खुलेको हो कि झै भएको छ । भलै सार्वजनिक यातायातका साधन सञ्चालन भने भएका छैनन् ।

लकडाउनको मोडालिटी परिवर्तन गर्ने सम्बन्धमा आइतबार कोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिमा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्तिथिमै छलफल भएपनि कुनै ठोस निर्णय भने हुन सकेन् । सरकार अब एमसीसी विवाद तर्फ केन्द्रित हुने देखिएकोले केही समय लकडाउन बारे नयाँ निर्णय नहुने सम्भावना पनि उत्तिकै रहेको एकथरीको बुझाइ छ ।

एकातिर संक्रमितको संख्या लगातार बढिरहेको, सरकारले पिसीआर परिक्षणको दायरा बढाउन नसक्नुका साथै लकडाउनको बारेमा कुनै निर्णय गर्न नसक्दा नागरिकमा थप त्रास र चिन्ता भने थपेको छ ।

प्रकाशित मिति : २६ जेष्ठ २०७७, सोमबार १४:०८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।