Logo

अर्थ

लेउवा संघ चुनाव छत्रधर आत्रेय अध्यक्षमा निर्विरोध, १९ पदमा ४५ उम्मेदवार



लेखनाथ उद्योग वाणिज्य संघ अध्यक्षमा छत्रधर आत्रेय निर्विरोध निर्वाचित भएका छन् । संघको आगामी २५ औं साधारणसभा तथा १३ औं महाधिवेशन अवसरमा मंगलबार मनोनयन दर्तामा नेतृत्वका लागि उनको मात्र उम्मेदवारी परेको हो । अन्य पदमा दोहोरो उम्मेदवारी परे पनि अन्तिमसम्म सर्वसम्मत प्रयासमा व्यवसायीहरु छन् ।
संघको वरिष्ठ उपाध्यक्षमा विनोद श्रेष्ठ र भरतकुमार अधिकारीबीच प्रतिस्पर्धा हुने भएको छ । श्रेष्ठ हाल कार्यसमिति प्रथम उपाध्यक्ष हुन् भने अधिकारी पूर्व महासचिव हुन् ।

यस्तै, प्रथम उपाध्यक्षमा राजेन्द्र ओझा र प्रकाशलाल श्रेष्ठ, द्वितीय उपाध्यक्षमा शैलेन्द्रमोहन भट्टराई र गोपिचन्द्र बास्तोलाबीच प्रतिस्पर्धा हुनेछ ।

महासचिवमा उपेन्द्र सुवेदी ‘राजु’ र मेनुका श्रेष्ठ चुनावी मैदानमा छन् । उपेद्र हाल उपमहासचिव हुन् भने मेनुका कार्यसमिति सदस्य हुन् । उपमहासचिवमा वर्तमान कार्यसमिति कोषाध्यक्ष जानुका अधिकारी र कार्यसमिति सदस्य धीरजकुमार श्रेष्ठले उम्मेदवारी दिएका छन् ।

कोषाध्यक्षमा रामजी पौडेल, भीमबहादुर नेपाली ‘काइला’, भरत ओझा र दीलकुमारी दाहाल ‘सन्ध्या’ गरी ४ जनाले उम्मेदवारी दर्ता गरेका छन् ।

कुल १२ सदस्यमा ३० जनाको उम्मेदवारी परेको छ । जसमध्ये ८ खुला सदस्यमा भरत थापा, विक्रम कर्माचार्य, वीरेन्द्र भण्डारी, बुद्धिप्रसाद बास्तोला, ध्रुवबावु भट्टराई, हरि बस्ताकोटी, इन्दिरा रोक्का, इन्द्रबहादुर थापा, जीवन तिवारी, खेमराज बराल, कृष्णबहादुर अधिकारी, कुलबहादुर रानाभाट, लक्ष्मीप्रसाद ढुंगाना, माधवप्रसाद तिवारी, निर्मल पौडेल, प्रमोद भण्डारी पुष्पमणि भण्डारी, राधाकृष्ण अधिकारी, राजनकल्याण बडगामी, सुरेन्द्र त्रिपाठी र टीकाराम सापकोटाले मनोनयन दर्ता गरेको संघका कार्यालय प्रमुख पवित्रा श्रेष्ठले जानकारी दिइन् ।

२ महिला सदस्यमा बुद्धिकुमारी मगर, गंगाकुमारी मल्ल, रञ्जना बराल, शान्तिकुमारी खनाल र तुलसी थापा क्षेत्री मैदानमा छन् । संस्थागत सदस्यमा महेश्वर आचार्य र रामबहादुर गुरुङ तथा एसोसिएट सदस्यमा वीरेन्द्र बानियाँ र मेघराज पौडेलबीच प्रतिष्पर्धा हुनेछ ।

संघको विधानअनुसार चुनावमा अध्यक्षसँगै वरिष्ठ उपाध्यक्ष, प्रथम उपाध्यक्ष, द्वितीय उपाध्यक्ष, महासचिव, उपमहासचिव र कोषाध्यक्ष रहने व्यवस्था छ । ८ खुला, २ महिला, १ संस्थागत र १ एसोसियट सदस्यका लागि मतदान हुनेछ । निवर्तमान अध्यक्षसहित निर्वाचित समितिले ३ मनोनीत र २ आमन्त्रित सदस्य चयन गर्नेछ । यसरी संघको कार्यसमिति २५ सदस्यीय हुने व्यवस्था छ । बढीमा ७ सल्लाहकार रहने व्यवस्था छ । संघमा हाल १ हजार ७ सय ५१ व्यवसायी आवद्ध छन् ।

निर्वाचन समितिमा अधिवक्ता हेमराज बराल, अधिवक्ता मदनप्रसाद तिवारी र राजकुमार ढकाल छन् । निर्वाचन समिति सदस्य मदनप्रसाद तिवारीका अनुसार बुधबार उम्मेदवारीमाथि छानबिन हुनेछ । बिहीबार उम्मेदवारी फिर्तासँगै दोस्रो नामावली प्रकाशन गरिनेछ । भदौ ११ मा साढे १२ देखि २ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । मतदान भदौ १९ गते हुनेछ ।

को हुन् आत्रेय ?

लेखनाथ उद्योग वाणिज्य संघको नेतृत्वसम्म पुगेका आत्रेय पोखरा २९, भण्डारढिक निवासी हुन् । ४६ वर्षीृय आत्रेय संघमा २०५८ सालमा साधारण सदस्यसँगै प्रवेश गरेका हुन् । साधारण सदस्य रहेको १० वर्षपछि २०६८ मा कार्यसमिति सदस्य, २०७० मा कोषाध्यक्ष, २०७२ मा महासचिव, २०७४ मा प्रथम उपाध्यक्ष र २०७६ मा वरिष्ठ उपाध्यक्ष निर्वाचित भएका हुन् । उनको लेखनाथ दाना उद्योगबाट प्रतिनिधित्व गरेका हुन् । उनले आफूलाई सर्वसम्मत बनाउन सहयोग गर्ने सम्पूर्णप्रति आभार व्यक्त गर्दै अन्य पदमा पनि अन्तिम समयसम्म सर्वसम्मत प्रयास हुने बताए । उनले कोरोना महामारीबीच पनि व्यावसायिक हकहितका मुद्दा सधैं अघि बढाउने प्रतिबद्धता जनाए । आत्रेय प्राध्यापनसँगै व्यावसायिक क्षेत्रमा प्रवेश गरेका हुन् ।

प्रकाशित मिति : ९ भाद्र २०७८, बुधबार १८:५७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।