Logo

अर्थ

ब्रेकिङ – सर्वोत्तम स्टिलको कारखानामा भट्टी पगाल्ने मेसिन पड्कियो, ठूलो संख्यामा मजदुरहरु हताहती !



बिरगञ्ज महानगरपालिका वडा नं. २२ मा रहेको सर्वोत्तम स्टिलको कारखानामा आगलागी भएको छ । सौरभ ग्रुपले सञ्चालन गरेको बिरगञ्जको परवानीपुरमा रहेको कारखानामा आगलागी भएको हो ।

बिहीबार बिहान साढे ११ बजेको समयमा उक्त कारखानामा आगलागी भएको स्थानीयहरुले बताए । कडा कच्चा पदार्थ पगालेर फलाम उत्पादन गर्ने ठुलो भट्टी पड्किएर आगलागी भएकोले ठूलो संख्यामा मजदुरहरु हताहती र घाइते भएको स्थानीवासीको भनाई रहेको छ ।

सुरक्षा निकायका बाहेक अन्यलाई घटनास्थलभित्र प्रवेश गर्न नदिएकोले नाम गोप्य राख्ने शर्तमा एक प्रत्यक्षदर्शीले बताए अनुसार कम्तीमा पनि ३०–३५ जनाको संख्यामा मजदुरहरुको मृत्यु भएको छ भने त्यतिकै मात्रामा घाईते भएका छन् । कारखाना वरपर ठुलो संख्यामा स्थानीयहरु जम्मा भएको भए पनि प्रहरी प्रसाशनका बाहेक कसैलाई प्रवेश गर्न दिएको छैन । सञ्चारकर्मीलाई समेत घटनास्थलमा प्रवेश गर्न दिएको छैन ।

कम्पनीका सञ्चालक समूहबाट घाइते र मृतकको संख्या लुकाइदिन प्रहरीलाई आग्रह गरिएको भन्ने हल्ला समेत एकाएक चलेपछि अहिले त्यसमा छुट्टै तनावको अवस्था सिर्जना भएको छ । भित्र सकुशल रहेका मजदुरहरुलाई समेत घटनाको बारेमा कसैलाई नभन्नु भनेर ठुलो घटनालाई सानो बनाउन खोजिएको स्थानीयको आरोप छ । स्थानीवासीले प्रशासनसँग पैसाको चलखेल गरेर शवहरु कारखानाभित्रै गायव गर्न खोजिएको समेत आरोप लगाएका छन् ।

बिरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगीका सम्धी साहिल अग्रवाल मुख्य सञ्चालक रहेको उक्त कारखानाको भट्टी पगाल्ने मेसिन पड्किएको र ठुलै आवाज टाढासम्म सुनिएको स्थानीयको भनाइ छ । अग्रवाल नेपाल स्टिल रोलिङ मिल्स एसोसिएसनका अध्यक्ष समेत हुन् । घटनाको विषयमा जानकारी लिन फोन गर्दा अग्रवालले मोबाइल अफ गरेको पाइयो ।

अधिकांश भारतीय मजदुरले काम गर्ने उक्त कारखानामा नेपालीभन्दा भारतीय मजदुरहरुमै बढी क्षति भएको भनाई स्थानीयको छ ।

यसै विषयमा वडा प्रहरी कार्यालय श्रीपुरका प्रमुख प्रहरी निरीक्षक दिनेश गौतमसँग बुझ्दा कारखानाको भट्टी पगाल्ने मेसिन उछिट्टिएर आगलागी भएको बताए । धेरैजना हताहती र घाइते भएको भन्ने स्थानीयवासीको भनाइको भने गौतमले खण्डन गरे । बढीमा १५ जना घाइते भएको र उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको उनको भनाई रहेको छ । घटनाका सम्बन्धमा अनावश्यक अफवाह फैलाइएको गौतमको भनाई रहेको छ ।

प्रकाशित मिति : १० भाद्र २०७८, बिहीबार १६:५८   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।