एनआईसी एशिया क्यापिटलको पाँचौ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले सामान्य प्रस्ताव अन्तर्गत आर्थिक वर्ष २०७७/०७८ को सञ्चालक समितिको प्रतिवेदन पास गरेको छ । यससँगै २०७८ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरण माथिको छलफल पनि पास गरेको छ ।
सभाले चुक्ता पूँजीको ४८ प्रतिशत (कर सहित) का दरले हुन आउने रु. ९ करोड ६० लाख नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ ।
सभामा क्यापिटलका अध्यक्ष कपिल ढकालले क्यापिटलले स्थापनाको ५ बर्षको छोटो अवधि मै हाल सञ्चालनमा रहेका ३० मर्चेन्ट बैंकर्स मध्ये निक्षेप सदस्य तर्फ प्रथम, म्युचुअल फण्डमा दोस्रो तथा लगानी ब्यवस्थापनमा दोस्रो स्थानमा रहन सफल भएको जानकारी गराए । साथै, उनले क्यापिटलले मर्चेण्ट बैंकिङ्ग सेवा अन्तर्गत आव २०७७/७८ को अन्त्य सम्ममा १० वटा कम्पनीको शेयर रजिष्ट्रार सम्बन्धी सेवा प्रदान गर्दै आइरहेको एवम् निष्काशन तथा बिक्री प्रबन्ध सेवा अन्तर्गत हाल सम्म ७ वटा कम्पनीको प्राथमिक शेयर निष्काशन, ४ वटा कम्पनीको हकप्रद शेयर निष्काशन र १५ वटा कम्पनीको बोलकबोल मार्फत शेयर बिक्री गर्ने कार्य सम्पन्न गरेको जानकारी दिए ।
अत्याधुनिक प्रणालीको ब्यवसायिक उपभोग गर्ने रणनीति अनुरुप संस्थाले डिम्याट खाता र मेरो शेयर खाता खोल्न, नविकरण गर्ने, खुलामुखी योजनाको इकाईको खरिद, पूनखरिद तथा लगानी व्यवस्थापन सेवा समेत अनलाईन मार्फत गर्न सकिने व्यवस्था मिलाएको छ । संस्थाले हाल शेयर रजिष्ट्रार, निष्काशन तथा बिक्री प्रबन्ध, शेयर प्रत्याभूति, लगानी व्यवस्थापन, निक्षेप सदस्य, संस्थागत परामर्श लगायतका मर्चेण्ट बैंकिङ्ग सम्बन्धी सम्पूर्ण सेवाहरु प्रदान गर्दै आईरहेको छ ।
एन आई सी एशिया बैंक म्युचुअल फण्ड अन्तरगतको बन्दमुखी सामूहिक लगानीकोष योजनाहरु एनआईसी एशिया ग्रोथ फण्ड, एनआईसी एशिया ब्यालेन्सड् फण्ड तथा एनआईसी एशिया सेलेक्ट–३० इन्डेक्स फण्ड र पहिलो खुलामुखी योजना एन आई सी एशिया डाइनामिक डेप्ट फण्ड संचालन गरिरहेको छ ।





















प्रतिक्रिया